२६, २०७५ विराटनगर /  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता कार्यदलले मोरङका १७ मध्ये १६ स्थानीय तहको एकता प्रक्रिया टुंग्याउने सहमति गरेको छ। शनिवार बसेको जिल्ला कार्यदलको बैठकले विराटनगर महानगरपालिकाबाहेक स्थानीय तहमा एकता प्रक्रिया टुंगो लगाउने सहमति गरेको हो। कार्यदलमा १६ स्थानीय तहमध्ये पूर्वनेकपा एमालेले नौ तह र पूर्वमाओवादी केन्द्रले सात तहको नेतृत्व लिने सहमति भएको हो। विराटनगर महानगरपालिकाको विषयमा केन्द्र र प्रदेशसँगको समन्वयमा टुंगोमा पुग्ने सहमति पनि भएको नेकपा मोरङका नेता तथा कार्यदलका सदस्य ऋषिकेश पोखरेले बताए। स्थानीय तहसम्म पार्टी एकता नहुँदा पार्टीको काम कारवाही सुस्त र जनसम्बन्धसमेत असर पुग्न थालेपछि एकता प्रक्रिया टुंग्याउन कार्यकर्ताहरुले दवाव दिँदै आएका थिए। कार्यकर्ताहरु कामविहीन भएको र कमिटी प्रणाली पनि हराउँदै जान थालेपछि एकतालाई छिटो टुंग्याउनु पर्ने बाध्यता सिर्जना भएको थियो। पछिल्लो चार दिनदेखि नेकपा मोरङका प्रमुख नेताहरुसहित कार्यदलका सदस्यहरु सहमतिका लागि छलफलमा सक्रिय थिए। भावी नेतृत्वले आगामी दिनमा स्थानीय राजनीतिमा पर्ने प्रभावसमेतलाई बिचार गरेर कार्यदलले भागबण्डा टुंग्याएको बताइएको छ। कार्यदलले पूर्वनेकपा एमालेले सुन्दरहरैंचा नगरपालिका, पथरी नगरपालिका, उर्लाबारी नगरपालिका, रतुवामाई नगरपालिका, सुनवर्सी नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र कानेपोखरी गाउँपालिकाको नेतृत्व लिने सहमति गरेको छ। यसैगरी पूर्वनेकपा माओवादी केन्द्रले बेलबारी नगरपालिका, लेटाङ नगरपालिका र रंगेली नगरपालिका, केराबारी गाँउपालिका, बुढिगंगा गाउँपालिका, जहदा गाउँपालिका र धनपालथान गाउँपालिकाको नेतृत्व पाउने सहमति गरेको छ। कार्यदलका सदस्य पोखरेलले विभिन्न सैद्धान्तिक दृष्टिकोणबाट स्थानीय तहको नेतृत्वको विषय टुंग्याएको बताए। उनका अनुसार उत्तरी मोरङ र राजमार्गमा आधारित आठ स्थानीय तहमध्येबाट पूर्वएमालेले पाँच र पूर्वमाओवादी केन्द्रले तीन तहको नेतृत्व गर्ने सहमति भएको छ। यसैगरी मध्यभागमा रहेको दुई तहमध्ये एक÷एक तह र दक्षिण क्षेत्रका ६ तहमध्ये तीन÷तीन तहको नेतृत्व पूर्व दुई पार्टीहरुले गर्ने गरी निर्णय गरेको जानकारी दिए। महानगरपालिकाको विषयमा भने केन्द्रलाई नै निर्णय गर्न दिने सहमति भएको छ। कार्यदलको बैठकमा नेकपाका नेता गुरु बराल, केन्द्रीय सदस्यहरु शिवकुमार मण्डल, विनोद ढकाल, गोपी अछामी, महेश रेग्मी, जिल्ला तहका नेताहरु ऋषिकेश पोखरेल, गणेश उप्रेती, कुशल लिम्बु र रामलाल साह लगायतको सहभागिता रहेको थियो। कार्यदलले चैत ३ भित्र सबै तहको नेतृत्वसहित कमिटीमा रहने सदस्यहरुको नाम र संख्या टुंग्याउन ऋषिकेश पोखरेल नेतृत्वको कार्यदललाई जिम्मेवारी दिएको छ। जसमा पोखरेल, गणेश उप्रेती, कुशल लिम्बु र रामलाल साह रहेको बताइएको छ। कार्यदलले नाम र संख्या टुंगो लगाएपछि प्रदेश कमिटिमा सर्वसम्मत प्रस्ताव गर्ने तयारी रहेको बताइएको छ।

Facebook Comments Box