काठमाडौँ / जनता समाजवादी पार्टी नेपालले सरकारलाई समर्थन गरेसँगै सो पार्टीमा मन्त्रालय र मन्त्रीका विषयमा आन्तरिक छलफल सुरु भएको छ । जसपा सरकारमा जाने लगभग निश्चित छ । पार्टी सरकारमा जाने भएपछि केही नेता मन्त्रीका आकांक्षी पनि देखिएका छन् । पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई आफू सरकारमा नजाने भएपछि श्रीमती सुशीला श्रेष्ठलाई पठाउने चर्चा बाहिर आएको छ । त्यस्तै मन्त्रीका लागि राजकिशोर यादव, दीपक कार्की, नवलकिशोर साह, रेखा यादवको चर्चा रहेको छ । अर्का नेता रामसहाय यादवलाई संसदीय दलको नेता बनाइए पनि उनलाई सरकारमा पठाउने सम्भावना कम देखिएको सो पार्टीका नेताहरु बताउँछन् ।
जसपाले गठबन्धनमा यसअघि पाएका मन्त्रालय पुनः दोहोर्याउन गठबन्धनमा प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ । यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपाले कृषि तथ पशुपन्छी विकास मन्त्रालय, वन मन्त्रालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय सम्हालेको थियो । यी तीनवटै मन्त्रालयका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा पहल थालेको पार्टी निकट स्रोतले जनाएको छ । दुईवटा मन्त्रालय पाउने लगभग निश्चित भएपनि तीनवटाको दावी गरेको श्रोतको भनाई छ ।

जसपाबाट प्रत्यक्षमा सात र समानुपातिकका ५ जना गरी १२ जना सांसद छन् । ‘१२ जना सांसद भएका कारण हामीले ३–४ वटा मन्त्रालय माग गर्नु जायज हो’ जसपाका एक कार्यकारिणी सदस्यले भने, ‘जसपाले मन्त्रालयका साथै उपराष्ट्रपतिमा पनि दावी गरेको छ, यो कुरा पार्टीका अध्यक्षज्युले प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष अ‍ोलीसमक्ष पनि राखि सक्नुभएको छ । दुईटा मन्त्रालयसहित उपराष्ट्रपति वा ३ देखि ४ वटा मन्त्रालयमा जसपाले दावी गर्ने ती नेताले बताए ।

Facebook Comments Box