इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले सडक सुशासन अन्र्तगत एक्साभेटर लगाएर आफ्नै घरको ‘कम्पाउन्ड’ भत्काएका छन्।

इटहरी उपमहानगरपालिका १७ स्थित पूर्व पश्चिम राजमार्गमा रहेको घरको पर्खाल भत्काएर उनले सडक सुशासन थालेको बताएका छन्।

मंगलबार पर्खाल भत्काउन उनले घरमै एक्साभेटर लगेका थिए । ‘विरोधीहरूले आफ्नो घर जोगाउन मेयरले सडक सुशासनलाई बेवास्ता गर्यो भनी प्रचार गरे,’ मेयर चौधरीले भने, ‘सडक सुशासन म बाटै सुरू भयो ।

चौधरीको घर २०५८ सालमा बनाइएको थियो । त्यतिबेला सडक अनुशासन नभएको बेला घर बनाइएकाले थोरै जग्गा मिचिएको उनले बताए।

यसैलाई लिएर मेयरले जग्गा मिचेको आरोप लागेपछि उनले भत्काएका हुन् ।

‘अहिलेको न्यूनतम् मापदण्ड १०५ फिट बाटो हो, मेरो घरको वालले दुई फिटजति छोएछ,’ उनले भने, ‘यहाँ ८२ फिटमा बनाइएका घरहरू छन् ।

उनले सडक सुशासन आफ्नो घर अगाडि आएर रोकिएको भन्नेहरूले अब सुशासनको क्रान्ति कसरी देखिन्छ धेरै पर्खिरहनु नपर्ने बताए ।

‘इटहरी नगरका एक हजार घरको लिस्ट बनाएको छु,’ उनले भने, ‘पाँच लाख जरिवाना तिराउँदै डोजर चलाउँछु ।

उनले बाटो, खोला, नाला, सार्वजनिकस्थलको जताजता जग्गा मिचिएको छ त्यता डोजर चलाउने बताए ।

‘डोजर किनेर थप्छु तर मिचेका घर भत्काएरै छोड्छु,’ चौधरीले भने ।

सार्वजनिक जग्गा मिच्ने एक हजार मान्छेलाई ‘कालोसूची’मा राखेको मेयर चौधरीले बताए ।

सुशासनमा निकै खरो उत्रिने गरेका मेयर चौधरी सोही कारण विरोधीहरूको निशानामा परेको आरोप लगाइने गरेको बताउँछन्। ‘विरोधीहरूले त्यस्तो आरोप लगाउँछन्, म के छु त्यो त जनतालाई देखाइहाल्छु नि,’ मेयर चौधरी भन्छन्

Facebook Comments Box