एमालेमा महासचिवबाहेक सबै पद खारेज, नेपाल – खनाललाई जानकारी नै नदिई महाधिवेशनको निर्णय

२८ फाल्गुन, काठमाडौँ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिव बाहेक सबै पद खारेज गरेका छन्।
शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ।

अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति तय गरेका हुन् ।

ओली पक्षको केन्द्रीय समितिको भेलाले पूर्व माओवादी केन्द्रमा रहेर ओलीतर्फ खुलेका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। बैठकले पूर्व माओवादी केन्द्र पक्षका २३ जनालाई केन्द्रीय समितिमा नियुक्त गरेको स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिए।

ओली सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापासहित टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, गौरीशंकर चौधरी लगायतका नेताहरु माओवादी केन्द्रमा नफर्की ओली पक्षमै रहने निर्णय गरेका थिए।

बैठकले माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेको छ । त्यसैगरी विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति गरिएको छ । उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए।

त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ। कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ।

बागमती प्रदेश इन्चार्चमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ।

बैठकले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ। माधव नेपाल तथा झलनाथ खनाललगायत नेताहरूलाई जानकारी नै नदिई उक्त निर्णय भएको स्रोतको दाबी छ।

सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिदा विरष्ठ नेता माधवकुमार नेपाल एमालेमै फर्किए पनि ओलीले उनीहरुसँग छलफल गरेका छैनन् । ओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर नेता नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेका छन् ।

शुक्रबार, २८ फागुन, २०७७, दिउँसोको ०४:५४ बजे

सम्बन्धित खवर