हिमालपारिको जिल्ला मुस्ताङमा हिउँमा मरे १२ सय चौपाया

फागुन २८, २०७५ पोखरा / एक महिना भन्दा लामो हिमपातका कारण हिमालपारिको जिल्ला मुस्ताङमा मात्रै करिब १२ सय पशु चौपाया मरेका छन्। मुस्ताङको लोमान्थाङ गाउँपालिका ३, ४ र ५ वडाका किसानहरुको पशु चौपाय मरेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए। ‘फागुनको दोस्रो हप्तादेखि अति नै हिउँ पर्यो’ पुरीले भने, ‘गाउँलेले हिउँमा पुरिएर चौँरी, याक, लगायतका पशु चौपाया मरेको भनेर जानकारी गराएपछि मुस्ताङ जिप्रकाबाट प्रहरीहरू खटेर क्षतिको विवरण संकलन सुरु गरेको हो। अझै पनि कतिपय ठाउँमा हिउँले जान नसकेकोले विवरण संकलनमा पनि समस्या भएको छ।’ त्यस्तै मुस्ताङकै थासाङ गाउँपलिका २ का गोविन्द शेरचनका ८ वटा चौँरी गाई हिमपहिरोमा परेर मरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। हिमपातले ५५ जना किसानको भेडा च्याङ्ग्रा मरे। लोमान्थाङका ल्हाक्पा गुरुङको गोठमा पनि सयौँका संख्यामा च्याङ्ग्राहरु मरेको स्थानीयले बताएका छन्। स्थानीय पेमा गुरुङका अनुसार किसानहरू सरकारको सहयोगका आसमा बसेका छन्। आफ्नो जीविकोपार्जनको स्रोत नै हिउँले सखाप पारेपछि स्थानीयहरु चिन्तामा परेका छन् । हिउँले करोडौँ मूल्यको पशुचौपाय मारेको स्थानीयको भनाइ छ।

