किन हुन्छ प्रदेश एकको संसद अवरुद्ध, गाँठो फुकाउन के गर्ने ?

विराटनगर । प्रमुख विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलगायतको लगातारको अवरोधका कारण प्रदेश १ संसद आज पनि सुचारु हुन सकेन ।

विपक्षी दलहरुले लगातार संसद अवरुद्ध गरिरहँदा सरकारले भने उक्त अवरोध हटाउन कुनै सार्थक पहल गर्न सकेको छैन । विपक्षी दलहरूले चालू आर्थिक वर्षका स्वीकृत कार्यक्रमहरु सुचारु गर्न, चालु विकास आयोजनाहरूलाई निरन्तरता दिन, अलपत्र रहेका बहुवर्षे विकास आयोजनालाई निरन्तरता दिन माग गर्दै आएका छन् । सरकारले भने बजेट अभावको कारण देखाएर ती सबै आयोजना रोकेको छ ।

संसदमा भएको अवरोध खोल्न भन्दै मुख्यमन्त्री शेरधन रार्इले आज बिहान आयोजना गरेको सर्वदलीय बैठक पनि बिना निष्कर्ष टुंगिएको थियो । त्यसपछि सुरु भएको संसद बैठकमा विपक्षी दलहरुले अवरोध गरेका थिए ।

जनता समाजवादी दलका नेता जयराम यादवले प्रदेश सरकार र मुख्यमन्त्रीले सदनमा उठेका मुद्दा सम्बोधनमा वेवास्ता गरेको आरोप लगाउँदै प्रदेशसभामा आउन आग्रह गरे । उनले बोले लगत्तै विपक्षी दलहरुले उठेर विरोध गरेर सदन चल्न नदिएका हुन् ।

त्यसपछि उपसभामुख सरस्वती पोखरेलले प्रदेश सभा बैठक वैशाख ५ गतेसम्मका लागि स्थगनको घोषणा गरेकी थिइन । आजसहित सदन अवरोध भएको यो तेस्रो दिन हो । यसअघि २६ र २७ गते चैतमा पनि सदन अवरुद्ध भएको थियो ।

यसअघि मुख्यमन्त्रीले आयोजना गरेको सर्वदलीय बैठकमा मुख्यमन्त्री राईले विपक्षीको जवाफ सदनमा दिने र त्यसको वातावरण बनाउन आग्रह गरेका थिए । तर, विपक्षीहरुले समस्या समाधानको निश्चितता बेगर सदन चल्न नदिने बताएपछि बैठक निष्कर्ष बिनै टुंगिएको थियो ।

सोमबार, ३० चैत, २०७७, साँझको ०५:३० बजे

सम्बन्धित खवर