पढाईसँगै पान खेतीमा रमाउँदै सुवास

झापा । अर्जुनधारा नगरपालिका– १० कालिस्थानका २४ वर्षीय सुवास खरेल यतिबेला पान खेतीमा आफ्नो भविष्य खोजिरहेका छन् । उनको खेतीमा काली बङ्ला जाहाजी जातका पानका विरुवा हुर्कदैछन् ।


२०७४ सालवाट करिव ३ कठ्ठा क्षेत्रफलमा सुरु गरेको ब्यवसायिक पान खेतीले यतिबेला आम्दानी दिन सुरु गरेको छ । भारतको कलकत्तास्थित कागदीपवाट विरुवा र सोही स्थानवाट प्राविधिक समेत ल्याएर उनले पान खेती सुरु गरेका हुन् । उनको खेतीमा रहेको काली बङ्ला जाहाजी जातको पान एसियाकै दोस्रो जातको पान हो ।
नेपालमा खाइने विभिन्न स्वादको पानका लागि पत्ताहरु भारतवाट आउने गरेको अवस्थामा सुवासले नेपालमै उत्पादन गरेर एक चरणको विक्री समेत गरिसकेका छन् । व्यवस्थापन संकायतर्फ वि.वि.एस चौथो वर्ष अध्ययन गरिरहका सुवास पढाईसँगै व्यवसायमा लागेका हुन् ।
‘पढाइ ब्यवस्थापन संकायको भए पनि कृषि कर्म गर्ने सोच वनाएर पान खेतीको सुरुवात गरेको हुँ’ उनले भने –‘यसमा भविष्य देखेको छु ।’ सुवासका वुवा त्रिलोचन खरेलले सुरुवात गरेकोे पान खेतीवाट उत्पादित पानले वजारको माग धान्न नसकेको वताउदै उनी भन्छन् ‘अरु कृषि उपजका लागि वजारको समस्या सुन्ने गर्छु तर मलाई पान वेच्न न कसैलाई गुहार्नु पर्छ न त हाट वजार धाउनु पर्छ ।’ उनले पान लिनका घरमै व्यापारी आउने र प्रतिपत्ता जाडो सिजनमा रु ५ र गर्मी याममा रु. ३ का दरले वेच्ने बताए ।
वजारमा ताजा पानको माग अत्याधिक रहेको हुँदा वजार माग अनुसार यसको खेती विस्तार गर्ने योजना रहेको वताउँछन् युवा उद्यमी सुवास । सुरुमा भारतवाट ११ सय विरुवा ल्याएर खेती प्रारम्भ गर्दा रु. ५ लाख लगानी भएको वताउँदै उनी भन्छन् ‘नेपाल सरकारले कृषकका लागि अनुदान दिने गरेको वताए पनि हालसम्म आफुले नपाएको बताए ।
भारतवाट विरुवा ल्याउँदा चर्को भन्सार तिरेर ल्याउनु पर्ने बाध्यता रहेको उनको गुनासो छ । प्रति विरुवा नेपाली रु. १५ का दरले ११ सय विरुवा रोपेको र १ वर्षमै लगभग १० हजार विरुवा वनाउन सफल भएको उनको भनाई छ ।
यो जातको पान खेती गर्नका लागि मुख्य गरी विरुवालाई खाद्य तत्वका लागि पिना र समय समयमा सिंचाइसँगै भिटामिन दिनुपर्ने हुन्छ । पान खेती गरिएको स्थानमा कुनै पनि झारपात तथा अन्य वनस्पती उम्रन दिनु नहुने, दैनिक सफाइमा ध्यान दिनुपर्ने, हावाहुरीवाट जोगाउनु पर्नेलगायतका सावधानी अपनाउनु खेतीमा सहयोग गरिरहेका लिलाप्रसाद खरेलले बताए ।
झापा जिल्लामा सुपारी, आँपलगायतमा पान खेती गर्ने गरिएको भए पनि यो पान भने सिङ्गल लगाउनु पर्ने बताउँदै उनले बजारमा यसको राम्रो माग भइरहेको बताए ।