काठमाडौं / छोराले घरव्यवहार धान्छन् र छोरी विहे भै अर्काको घरमा जान्छन् भन्ने नेपाली सोंचाई र परम्पराको अपवाद हुन् बाँके कोहलपुरकी शारदा शर्मा । ३३ वर्षीय शर्मा बाबुआमाको हेरचाह, आफू र भाईहरुको पढाई लेखाईमा समर्पित भएकी मात्र छैनन् पशुपालनमार्फत् बाँके जिल्लाकै उत्कृष्ठ पशुपालकमा दरिएकी छिन् ।

कोहलपुर नगरपालिका –१२ चप्परगौडीमा शारदा सिर्जनशील गाई फार्म सञ्चालन गरेर शारदा हरेक वर्ष ५–६ लाख रुपैयाँ बचत गर्छिन् । १५ हजार रुपैयाँको लगानीमा १५ वर्ष अगाडी शुरु गरेको गाई फार्मले आज उनी र उनको परिवारको आर्थिक उन्नति भएको छ भने सामाजिक रुपमा पनि निकै सम्पन्न बनाएको छ । एउटा उन्नत गाई किनेर गाईपालन शुरु गरेकी शारदाले ३० वटासम्म गाई पु¥याइन । प्रतिदिन ७० लिटरसम्म दूध बेचिन । शारदा अहिले पनि दैनिक ५० लिटर दूध विक्री गर्छिन । उनको एउटै गाईले बिहान बेलुका गरेर २७ लिटरसम्म दूध दिन्छ ।

भारतको असममा रोजगारीमा रहेका बाबुलाई देशमै केही गरौं भनी कन्भिन्स गरेर फर्किएको र त्यस लगत्तै गाईपालन शुरु गरेको शारदा बताउँछिन् । गाईपालन शुरु गर्दा केहीले के गर्लान् र यिनीहरुले भनेको तर पछि आफूहरु सफल भएपछि गाई पाल्ने तरिका सोध्न आएको कुराले उनलाई थप प्रेरित गर्ने गरेको छ । कसले के भन्ला भनेर हामीले गाईपालन थालेका थिएनौं त्यसैले हाम्रो ध्यान काममा मात्र केन्द्रित थियो, उनी भन्छिन्,–समयले सबै ठीक गर्दोरहेछ, अहिले कतिपयले तिमीहरु हाम्रा आदर्श हौ पनि भन्दछन् । शारदाको फार्ममा अहिले १५ वटा गाई छन् । त्यसमध्ये ४ वटा दुहुना, ४ वटा गाभिन, १ माउ, १ साँढे र ४ बाच्छी छन् । २७ वटा गाई यो बीचमा बिक्री गरेको उनी बताउँछिन् । “मानिसहरु आउँछन हामीलाई १(२ वटा गाई देउ भन्छन्, त्यसैले बिक्री गरेकी, उनी भन्छिन्,“ तिमीले पालेको गाई लैजान पाए मेरो पनि उन्नति हुन्थ्यो कि भन्ने चाहना भेटिन्छ कतिपयमा । उचित स्याहार सम्भार गर्ने भएकाले आफ्ना गाईहरु नियमित रुपमा ब्याउने गरेकाले बढिहाल्छन् नि भनेर गाई बिक्रीलाई पनि व्यवसायकै एउटा पाटो मानेको शारदा बताउँछिन् । आफ्नो जमिनले नपुगेर शारदाले नजिकै रहेको स्थानीय मन्दिरको जमिन पनि घाँस लगाउन भाडामा लिएकी छन् ।

गाई फार्ममार्फत् आएकै पैसा उनको परिवारले विभिन्न काममा लगाएको छ । गाई व्यवसायकै पैसाबाट चप्परगौडीमा घर बनाएको, भाईहरुले र आफूले पनि स्नातकोत्तर सम्मको अध्ययन गरेको, वर्दियाको बाँसगढीमा २ विघा जग्गा किनेको, कोहलपुरको एनटिभी रोडमा घडेरी किनेको, एक भाईको विवाह सम्पन्न गरेको शारदा खुशीसाथ बताउँछिन् । गाईपालन व्यवसायलाई राम्रो ढंगले अघि बढाएपछि शारदा गाई फार्मलाई विभिन्न सरकारी निकायले पनि सहयोग र प्रोत्साहन गरेकाछन् । सरकारले जिल्ला पशुसेवा कार्यालयमार्फत् २०७० सालमा यूवालक्षित कार्यक्रम अन्तर्गत् २ लाख रुपैयाँ अनुदान दिएको छ भने पशु प्रजनन् केन्द्रले गोठ सुधारका लागि २० हजार रुपैंयाँ दिएर उनलाई प्रोत्साहित गरेको छ । पशुसेवा कार्यालयले गोबर फ्याक्ने हुविल ब्यारो दिएको छ, उनी भन्छिन,– गाईलाई खुवाउने घाँसका वीउहरु नियमित रुपमा पशु सेवा कार्यालयले हाम्रो घरसम्मै ल्याइदिन्छ । शारदाको घरमा अहिले गाईपालनबारे सल्लाह, सुझाव र परामर्श लिन कोहलपुरका स्थानीय मात्र होइनन् नेपालगञ्ज, वर्दियालगायतका विभिन्न ठाउँबाट मानिसहरु आउँछन् । सबैलाई म झर्को नमानी निःशुल्क रुपमै सल्लाह,सुझाव दिन्छु, शारदा भन्छिन्– विदेश गएर कमाएको भन्दा बढी घरै बसेर गाइपालन गरेर कमाउन सकिन्छ ।

विदेश गएकाहरुका आफन्तलाई पनि आफूले आफन्तलाई घर फर्काउ र गाईपालन गर भनेर सुझाव दिएको शारदा बताउँछिन् । शारदाले यो वर्षबाट पशुपालनलाई अलि वृहत् गर्ने, तरकारी खेतीसंग पनि जोड्ने र वृहत् कृषि फार्म खोल्ने योजना बनाएकी छन् । त्यसका लागि १५ लाख रुपैयाँ सरकारले दिएको ६ प्रतिशत ब्याजदरको सहुलियतपूर्ण ऋण लिएको उनले बताइन । “यो ऋण र मैले जम्मा पारेर राखेको केही रकम मिलाएर आधुनिकीकरणतिर जाने सोंच छ“ शारदा भन्छिन,–यसमा मलाई घरपरिवार र शुभचिन्तक सबैले हौसाएका छन् । गाईपालनबाट केही समय निकालेर उनले सामाजिक सेवा पनि अघि बढाएकी छिन् । बालबालिकाका सम्वन्धमा काम गर्न एक संस्था स्थापना गरी अघि बढेको उनले बताइन ।

Facebook Comments Box