
मंसिर २६, हेटौँडा / नेपाली बजारलाई प्रयोग गर्दै बंगालादेश सम्म पशु विक्रि वितरण हुन शुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध तवरबाट हेटौँडा हुँदै बंगलादेशतर्फ लैजान लागेका गाईगोरु नियन्त्रणमा लिएको छ ।


हेटौँडास्थित रातोमाटे प्रहरी चौकीका प्रहरीले पथलैयादेखि हेटौँडातर्फ आउँदै गरेको ना ६ ख २०८१ नम्बरको ट्रक चेकजाँच गर्दा गोरुसँगै गाई राखेर बंगलादेशतर्फ लान लागेको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार ट्रकमा १९ वटा गाईसहित ११ वटा गोरु थिए। यसअघि विभिन्न समयमा गोरुसँगै गाई पनि तस्करी हुने गरेको बताउँदा समेत प्रहरीले वास्ता गरेको थिएन । यसअघि प्रहरीले नियन्त्रणमा लिएका गाईगोरुलाई अपनाउनुपर्ने सावधानी नअपनाइएको भन्दै आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन चेकपोष्ट पथलैया पठाउने गरेको थियो। पथलैयाले आवश्यक कागजपत्र पुगेपछि छाडिदिने गरेको छ। ‘क्वारेन्टाइन जाँच नगराएका गाईगोरु नियन्त्रणमा लिएर क्वारेन्टाइन चेकजाँचका लागि पथलैया पठाउने गरेका छौं, प्रहरी नायब उपरीक्षक भट्टराईले भने।
मुलुकभित्र एक स्थानबाट अर्काे स्थानमा चौपायाहरु ओसारपसार गर्न पाउने कानुन भए पनि गाई र गोरु बंगलादेशतर्फ लैजाने गरेको यहाँका राजनीतिक दल नेताहरुले आवाज उठाएसँगै प्रहरीले नियन्त्रणमा लिएको हो।
हेटौंँडामा नियन्त्रणमा लिइएका अधिकांश गोरु भारतबाट ल्याउने गरिन्छ। मु्ख्यगरी कपिलवस्तुको चन्द्रौटा नाका हुँदै भारतबाट गोरु नेपाल भित्र्याइन्छ। कपिलवस्तुबाट ट्रकमा लोड गरेर झापा हुँदै बंगलादेशमा लगेर बिक्री गरिन्छ । भारतबाट १० देखि १५ हजार रुपैयाँमा खरिद गरेर ल्याएको गोरु एक लाख रुपैयाँभन्दा बढी मूल्यमा बिक्री हुने प्रहरीले बताएको छ । प्रहरीले स्वास्थ्य परीक्षण नगराइकन गोरु बिक्री गर्न लैजान लागेकाले नियन्त्रणमा लिने गरेको बताउँदै आएको छ । नेपालको पश्चिमी क्षेत्रबाट व्यापारीले खरिद गरेर ल्याएको गाई गोरु पनि झापाहुँदै बंगलादेशमा लगेर बिक्री गरिन्छ। गोरु व्यापारीहरुले राजमार्गमा कुनै अवरोध भएन भने सोझै झापा हुँदै बंगलादेश पुर्याउछन् ।