विराटनगर / पार्टीको चर्को विवाद र असन्तुष्टिबीच प्रदेश १ सरकारमा माओवादी केन्द्रका जीवन आचार्यसहित तीन मन्त्रीले नियुक्तिपछि सपथ लिएका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज माओवादी केन्द्रबाट जीवन आचार्य र दुर्गा चापागाई तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई नियुक्त गरेका हुन् ।

नवनियुक्त तीनै जना मन्त्रीले प्रदेशप्रमुख परर्शुराम खापुङसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । तीनै जना मन्त्रीलाई मन्त्रालयको जिम्मा दिइएको छैन । पुस २५ गते आफ्नो सपथसँगै ३ ‘विनाविभागीय मन्त्री’ नियुक्त गरेका मुख्यमन्त्री कार्कीले थप ३ जनालाई पनि विनाविभागीय नै राखेका छन् ।

यसअघि नै मुख्यमन्त्री कार्कीले एमालेबाट ताप्लेजुङका तिलकुमार मेन्याङ्बो, राप्रपाबाट झापाका भक्तिप्रसाद सिटौला र जसपाबाट ताप्लेजुङकै निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरिसकेका छन् । मन्त्रीहरुको बरियतामा कार्कीपछि मेन्याङ्बो छन् भने तेस्रो बरियतामा चापागाई छन् । यस्तै चौथोमा राप्रपाका सिटौला, पाँचौमा माओवादीका आचार्य, छैटौंमा एमालेका राजभण्डारी र सातौंमा जसपाका निर्मला लिम्बूलाई राखिएको छ ।

Facebook Comments Box