विर्तामोड / नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र साहसहित उनको परिवारको उपस्थितिमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने महाअभियान’ सुरु गरेपछि एमालेभित्र त्यसको विरोध सुरु भएको छ ।

प्रसाईँले पूर्वराजालाई ल्याएर कार्यक्रम गरेपछि एमालेका जिल्ला स्तरका नेताहरूले विरोध गरेका छन् । पार्टीभित्रको विधि प्रक्रियाबाहिर रहेर केन्द्रीय नेताले नै कार्यक्रम गर्नु गलत भएकाले कारबाही हुनु पर्ने जिल्ला स्तरका नेताहरू बताउँछन् । केन्द्रका नेताहरू सबै जानकार भएकाले यसको फैसला चाँडै आउने नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीले बताए ।

देशको कार्यकारी पदमा नभएको व्यक्ति पूर्वराजालाई ल्याएर उद्योगी व्यापारीका समस्या समाधान गर्न नसक्ने उनले बताए । ‘पार्टीको केन्द्रीय सदस्य भएर अब म राजा ल्याउन सक्छु । राजेन्द्र लिङ्देनले ल्याउन सक्दैनन् भन्ने कुरा गर्दै हिँड्नु भएको छ’ उनले भने, ‘धर्मको रक्षक म हुँ, देश बचाउँछु भनेको कुरा नेतृत्वले बुझेकोले यत्तिकै नराख्ला, राख्नु पनि हुँदैन ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हजुरबाको सम्बोधन गर्ने प्रसाईले सोमबार ओझी झापामै भएको बेला पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा अभियान सुरु गरेका हुन् । सो कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाह, पूर्वअधिराजकुमारी पे्ररणा शाहसहितको सहभागिता थियो । आफूले सुरु गरेको महाअभियान पार्टीभन्दा माथि देशको रक्षाका लागि भएको प्रसाईँले बताएका छन् ।

झापास्थित विएनसी अस्पतालका सञ्चालक प्रसाई आपत्तीजनक र विवादित हर्कत र अभिव्यक्तिको कारण चर्चामा आउने पात्र हुन् । उनले महाअभियानका लागि भन्दै बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर ६ प्रतिशतभन्दा कम हुनुपर्नेलगायतका माग राखेका छन् ।

प्रसाईंले आफ्नो अभियान राजनीतिक नभएको दाबी गरे पनि मागमा भने सेतो हात्ती बनेको प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने उल्लेख गरेका छन् । उनले राजा फालेपछि मुलुक अभिभावकविहिन भएको प्रतिक्रिया पनि दिँदै आएका छन् । झापामा सुुरु भएको उनको अभियानमा सहभागिताको लागि गाडी रिजर्भ गरेर विभिन्न जिल्लाबाट मानिस भेला गरिएको थियो ।

प्रसाईं गत वर्ष मंसिरमा भएको एमालेको महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य बनेका थिए । उनलाई केन्द्रीय सदस्यसँगै ओलीले मोती दुगड प्रमुख रहेको उद्योग विभागको उपप्रमुखको जिम्मेवारीसमेत दिएका छन् ।

गत मंसिर ४ गते भएको निर्वाचनअघिसम्म प्रसाई झापाबाट काठमाडौं ओर्लिँदा सिधै ओलीनिवास बालकोट पुग्थे । बालकोटमा हुने हरेक कार्यक्रममा प्रसाई प्रायः ओलीनजिक नै रहन्थे ।
सोमबार भने आफ्नै पार्टीको केन्द्रीय सदस्यले तामझामसहित अभियान थाल्दैगर्दा ओली झापाकै शिवसताक्षी नगरपालिका–८, झिलझिलेस्थित वाटर पार्कमा थिए । प्रसाईले आफ्नो कार्यक्रममा आउन हजुरबासमेत रहेका अध्यक्ष ओलीलाई निम्तो दिएको भएपनि नआएको बताए ।

Facebook Comments Box