फागुन १, २०७५ काठमाडौं / पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले जनयुद्ध दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। सशस्त्र जनयुद्धको २४ वर्ष पुगेको अवसरमा शुभकामना व्यक्त गर्दै डा‍. भट्टराईले नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवस (फागुन १ गते) को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना भनेका छन्। भट्टराईले संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न १० वर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२–६३ को जनआन्दोलनको प्रमुख भूमिका रहेको भन्दै यसलाई नभुल्न भनेका छन्। २०४८ सालदेखि ७१ सालसम्म एउटै पार्टीमा रहेका भट्टराई र प्रचण्ड अहिले फरक फरक पार्टीका प्रमुख छन्। तिनै प्रचण्डसँगको फोटो सामाजिक सञ्जाल ट्वीटरमार्फत राख्दै बाबुरामले जनयुद्धलाई सम्झेका हुन्। बाबुराम र प्रचण्डले २०४८ सालदेखि २०५१ सालसम्म संयुक्त जनमोर्चाको शीर्ष स्थानमा रहेर काम गरेका थिए। संयुक्त जनमोर्चाबाट हटाइएपछि उनीहरू २०५२ साल माघ २२ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४०–सूत्रीय माग पेश गरेर फागुन १ गते सशस्त्र जनयुद्धमा होमिएका थिए। १० वर्ष चलेको माओवादी जनयुद्धमा १७ हजारभन्दा बढीले ज्यान गुमाए भने हजारौँ घाइते र बेपत्ता भए। २०६२–६३ मा भएको जनआन्दोलनले माओवादीलाई शान्ति प्रक्रियामा ल्यायो भने २०६५ मा भएको चुनावमा माओवादी सबैभन्दा ठूलो पार्टी बन्यो। त्यही पार्टीबाट तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने। माओवादीबाटै डाक्टर बाबुराम भट्टराईले पनि प्रधानमन्त्रीको कार्यभार सम्हाले। तीन वर्षअघि माओवादीबाट अलग भएर छुट्टै पार्टी खोलेका बाबुराम भट्टराई अहिले नयाँ शक्ति नेपालका संयोजक छन्।

Facebook Comments Box