माओवादी जनयुद्ध र कम्युनिष्ट सरकार

तारामणि सापकोटा

कार्ल माक्र्स भन्दा अघिका दार्श्निकले समाजको व्याख्या गरे तर बदल्ने कुरा गरेनन् । दर्शनलाई चिन्तन र वौद्धिक बिकासको माध्यम मात्र बनाए । तर, माक्र्सले दर्शनको मूल प्रश्न समाज बदल्नु हो भने ।

नेपालमा पनि कम्युनिष्ट पार्टी स्थापना भए । दर्शन र सिद्धान्तका चर्चा र बहस गरे । क्रान्तिका कुरा भए तर, त्यस अनुसार योजना र रणनीति बनेनन् । समाज बदल्न जनवादी क्रान्तिको अनिवार्यता ठानिएन । आंशिक परिवर्तन र सूधारलाई क्रान्ति ठान्ने प्रवृति देखा पर्यो । नेपालको कम्युनिष्ट क्रान्तिकारी धार भुत्ते हुँदै गएको अवस्थामा नेकपा माओवादीको नेतृत्वले २०५२ साल फागुन १ गते बाट सशस्त्र बिद्रोह सुरु भएको हो । माओवादीले जनयुद्ध सुरु गरेको आज २४ वर्ष पुगेको छ भने यसले बिश्राम लिएको १२ वर्ष भइसकेको छ ।

जनयुद्ध नेपालमा माओवादको नयाँ प्रयोग थियो । सशस्त्र युद्धबाट सत्ता कब्जा गर्ने योजना र रणनीति पूरा हुन नसकेपनि जनयुद्धका उपलब्धी संस्थागत गर्ने शान्तिपूर्ण मार्ग अवलम्वन गरिएको छ । यस अर्थमा पनि नेपालको जनयुद्ध र माओवादको प्रयोग पुरानो माओवाद भन्दा भिन्न रुपमा स्थापित भएको हो । नेपालको जनयुद्धको इनिङ शान्तिपूर्ण रुपमा भएको छ । सशस्त्र युद्धका उपलब्धीलाई शान्ति र सम्झौताबाट स्थापित भएका छन् ।
जनयुद्ध र २०६२÷६३ जनआन्दोलनको फ्यूजनबाट गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशी सिद्धान्त स्थापित भएका हुन् । जनआन्दोलनको आधार नै माओवादी जनयुद्ध बनेको थियो । जनयुद्धले २००७ क्रान्ति, २०२७ २८ सालको झापा बिद्रोह, २०४६ सालको आन्दोलन र क्रान्तिलाई पूर्णता प्रदान गरेको छ ।

सामन्तवादी राज्यसत्तामा आमूल परिवर्तन शान्तिपूण मार्गबाट सम्भव हुँदैन । सामन्ती सत्ता ध्वस्त बनाउन सशस्त्र युद्धको अनिवार्यता हुन्छ भन्ने मान्यतालाई जनयुद्धले प्रमाणित गरेको छ । शहरी क्षेत्रबाट हुने जनआन्दोलन र परिवर्तन भन्दा भिन्न, चेतनाका हिसावले पिछडिएको ग्रामिण इलाकाबाट जनयुद्ध सुरु हुनु नै यसको मूल बिशेषता थियो । त्यसमा पनि घरेलु र केहिथान भरुवा बन्दूकका भरमा सुरु गरिएको सशस्त्र युद्धले राज्यसत्ताको जरै हल्लायो ।

जनयुद्धले ठूला र शक्तिशाली भनिएका दललाई चुनौती दिएको थियो । जनमुक्ति सेना गठनदेखि कम्युन, जनअदालत गठन आधार इलाको निर्माणको अभ्याससम्म हुनु क्रान्तिको नयाँ प्रयोग थियो । माओवादी पार्टी र जनमुक्ति सेनाको प्रभावले एक प्रकारको आँधिवेरी सृजना गरेको जनयुद्धले संसार हल्लाएको थियो । जनयुद्ध विश्व कम्युनिष्ट आन्दोलनका लागि प्रेरणाको स्रोत बनेको छ । यसले माक्र्सवादको प्रयोग शान्तिपूर्णमा गर्नुपर्छ भन्ने सोँच र दृष्टिकोणलाई चुनौती दिएको छ ।

जनयुद्ध आवाज विहिनका लागि आवाज बनेको थियो । जनयुद्धको प्रारम्भमा शोषक, सामन्त, जाली, पटाहा, गुण्डागर्दी बिरुद्ध केन्द्रित हुँदा माओवादी पार्टीले जनसम्बन्ध स्थापित गरेको थियो । माओवादी जनयुद्ध जातिय, लैंगिक, क्षेत्रिय शोषण र विभेदमा परेका केन्द्रित थियो । जातीय उत्पीडन र शोषणका बिरुद्ध जनयुद्धले नयाँ मूल्य मान्यता स्थापित गरेको थियो । जनयुद्धले आदिवासी, जनजाति, मधेसी, दलित, महिला, पिछडिएको क्षेत्रका नागरिकमा आफ्नो अघिकारका लागि संघर्ष लागि नयाँ चेतनाको संचार गरेको थियो ।

जनयुद्धको एक मात्र राजनीतिक नारा संविधान सभाबाट संविधान भन्ने थियो । यस नारामा काँग्रेस र तत्कालिन एमाले जस्ता सूधारवादी पार्टी परिवर्तनका पक्षमा बाध्य भएपछि दोस्रो जनआन्दोलन सम्भव भएको हो । यसैको रिणामस्वरुप नेपाल संघीय लोकतान्त्रि गणतन्त्र, समावेशी तथा धर्म निरपेक्ष राष्ट्रको रुपमा स्थापित भएको हो । संविधानमा आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम जस्ता विभेदको शिकार भएका जाति र समुदायका अधिकार संविधानमा संरक्षण भएको छ । समाजवादी आए नआए पनि संविधानमा समाजवाद स्थापना गरिने भन्ने सैद्धान्तिक मान्यतालाई स्वीकार गरिएको छ ।
सिंहदरबारमा भएको केन्द्रीकृत सत्ता र त्यसका अधिकार स्थानीय तहसम्म ल्याउन जनयुद्धको योगदानले सम्भव तुल्याएको हो । जनयुद्ध पछिका शान्ति यात्रा, द्वन्द्व र द्वन्द्व व्यवस्थापन विश्वका द्वन्द्व व्यवस्थानका लागि मार्ग दर्शन बनेको छ । संविधानमा प्रदेश तथा केन्द्रीय संसद्मा ३३ प्रतिशत महिलाका लागि संरक्षण, राष्ट्रिपति वा उपराष्ट्रपति, सभामुख वा उपसभामुख, स्थानीय तहका वडामा महिला र दलितको अनिवार्य प्रतिनिधित्वमा जनयुद्धको छाप देख्न सकिन्छ ।

संसद्मा आदिवासी, जनजाति, महिला, मधेसी, मुस्लिम, दलित, पिछडिएको क्षेत्रमा समानुपातिक प्रतिनिधित्व ज्ञारेण्टी गरिएको छ । राज्य सत्तामा सबै वर्ग र लिंगका प्रतिनिधित्व अहिलेको संविधानले सम्भव भएको हो ।

नेपालका दुई ठुला कम्युनिष्ट पार्टी तत्कालिन एमाले र माओवादी बिच पार्टी एकता भइ नेकपा गठन भएको छ । हिजोका चरम शत्रु पार्टी जस्ता पार्टी बिचको एकताले सबैलाई चकित पारेको छ । कम्युनिष्ट आन्दोलनका लागि यो एकता ठुलो उपलब्धी हो । तर, पार्टी एकताले हिजोका उपलब्धीको संरक्षण गर्न सक्छ कि सक्दैन ।

आज २४ औँ जनयुद्धको नेकपाले स्वामित्व लिने कुरा स्वागत योग्य छ । हिजो निरंकुश राज्यसत्ता ध्वस्त पार्न बन्दूक बोक्ने क्रान्तिकारीलाई त्यसले उत्साह प्रदान गरेको हो । तर, जनयुद्धको प्रशंसाले मात्र त्यसका उपलब्धीको संरक्षण हुन सक्दैन । दुई तिहाइको कम्युनिष्ट सरकारले शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न सक्नु पर्छ ।

जनयुद्धमा उठाइएको समतामूलक समाज निर्माण, आर्थिक सम्बृद्धिको विषय अब कसरी अघि बढ्छ मूल प्रश्न यो हो । यदि जनयुद्धको मर्म र भावना अनसार कम्युनिष्ट आन्दोलन अघि बढ्न सकेन भने त्यसले दुर्घटना व्यहोर्न वाध्य हनु पर्दछ । सजिलो खवरबाट

बुधबार, ०१ फागुन, २०७५, दिउँसोको १२:०७ बजे

सम्बन्धित खवर