झापाका ​१५२ छात्रालाई साइकल वितरण

झापा, ३१ चैत । झापा गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत १५२ छात्रालाई निःशुल्क साइकल वितरण गरेको छ ।

गाउँपालिकाले सोमबार एक कार्यक्रम गरी तीनवटा सामुदायिक विद्यालयका छात्राहरुलाई साइकल वितरण गरेको हो ।

भारतीय सीमा नाकासँग जोडिएको गाउँपालिकाभित्र आदिवासी, मुस्लिम, पिछडिएका, विपन्न र अल्पसंख्यक विद्यार्थीहरूको बाहुल्यता रहेको छ । उनीहरू शिक्षाको पहुँचबाट टाढा रहेकाले शिक्षा सुधार कार्यक्रमअनुसार गाउँपालिकाले कक्षा ९ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको हो ।

गाउँपालिकाले डिल्लीराज माध्यमिक विद्यालयका ९८, कुवाडीदेवी माध्यमिक विद्यालयका ४२ र महेन्द्र माध्यमिक विद्यालयका १२ जना छात्रालाई साइकल वितरण गरेको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जीवन ढकालले जानकारी दिए ।

गाउँपालिकाभित्र पाँचवटा माविस्तरका विद्यालय रहे पनि पहिलो चरणमा तीनवटा विद्यालयका छात्रालाई साइकल दिएको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले घरबाट विद्यालय टाढा भएका र आर्थिक अवस्था कमज़ोर भएका विद्यार्थीलाई साइकल वितरण गरिएको बताए । यसले विद्यार्थीलाई सहज हुनुका साथै पठनपाठनले पनि निरन्तरता पाउने विश्वास लिएको उनको भनाइ छ

मङ्गलबार, ३१ चैत, २०७७, बिहानको ०८:३८ बजे

सम्बन्धित खवर