इटहरी / इटहरी रंगशालामा अन्तराष्टिय स्तरको भिआइपी प्याराफिट बन्ने भएको छ । ३ हजार ५ सय दर्शक क्षमताको तीन तले प्याराफिट निर्माण कार्यको राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले शुक्रबार बिहान शिलन्यास गरेका छन ।

इटहरीमा २५ करोडको भिआइपी प्याराफिट निर्माणको योजना भित्राएका हुन । आगामी माघ महिनाभित्रमा निर्माण सम्पन्न गरिने लक्ष्य रहेको प्याराफिट निर्माण युद्धस्तरमा अघि बढ्ने बिष्टले दाबी गरे । इटहरी रंगशालाभित्र आउटडोर र इन्डोरका विभिन्न खेलका एक दर्जन भन्दा बढी प्रतियोगिता एकैपल्ट आयोजना गर्न मिल्ने गरी भौतिक पूर्वाधार निर्माणको योजना भित्राइसकेका बिष्टले बांकी ४ वटा खेलका लागी पनि संरचना निर्माण चांडै सुरु हुने बताए ।

हरेक पटक गृहनगर आउदा कुनै न कुनै खेलकुदका संरचना शिलन्यास गर्ने गरेका बिष्टले यसअघि रंगशालामा तेक्वान्दो भवन, ब्याडमिन्टन कोर्ट, भलिबल एकेडेमी, उसु, कराँते भवन, टेबलटेनिस लगायतका खेलकुदका पूर्वाधार निर्माणमा करोडौको योजना भित्राइसकेका छन । बिष्टले झापाको दमक स्थित लखनपुरमा १६ अर्बको लागतमा अन्तराष्टिय रंगशाला निर्माणको काम पनि थाल्ने जानकारी दिए ।

बिष्टको कार्यकाल आगामी असारमा सकिदैछ । शिलन्यास कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्धवारिकलाल चौधरीले नगरपालिकाले खेलकुदमा बजेट विनियोजन गर्ने नसकेको अवस्थामा राखेपले बिभिन्न योजना भित्राएर ठुलो काम गरेको बताए ।

Facebook Comments Box