गुजरातमा आँधी आउने भन्दै तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

एजेन्सी जेठ ३०, २०७६/ भारतीय राज्य गुजरातमा समुन्द्री आँधी आउने चेतावनीपछि तीन लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ।


अरब सागरबाट उठेको चक्रवात उत्तरी दिशातर्फ १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढेको छ। सो आँधी गुजरातको तटसँग ठोक्किने छ। ‘वायु’ नाम दिइएको यो चक्रवातलाई भारतीय मौसम विभागले गम्भीर श्रेणीमा राखेको छ। गुजरातको पोरबंदर र जामनगर जस्ता कयौं इलाकामा यतिबेला भारी वर्षा र तीब्र हावाको प्रकोप देखिएको छ।
सम्भावित नोक्सानीलाई रोक्न वायु सेना, थल सेना र तटरक्षक दललाई तयारी अवस्थामा राखिएको छ। पर्यटकहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। त्यसैगरी रेल सेवालाई पनि बन्द गरिएको छ। पाँचवटा विमानस्थलको हवाई सेवालाई २४ घण्टाका लागि बन्द गरिएको छ।
१० वटा जिल्लाका स्कुल पनि शनिबारसम्मका लागि बन्द गरिएको गुजरात सरकारले जनाएको छ।