काठमाडौँ । मनसुन सक्रिय भएसँंगै अविरल वर्षाका कारणले गर्दा मुलुकभरको जनजीवन प्रभावित भएको छ । बिहीबार रातिबाट सुरु भएको लगातारको वर्षाका कारण बाढीले बगाएर तथा पहिरोमा पुरिएर १७ जनाको ज्यान गएको छ ।

गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाले जनाए अनुसार बाढीपहिरोमा परी आठ बेपत्ता र १३ घाइते भएका छन् । काठमाडौँ उपत्यकालगायत तराईका विभिन्न जिल्लामा डुबानको समस्या देखिएको छ भने अधिकांश नदीको बहाव बढेका कारण पहिरोले मुख्य सडक अवरुद्ध छन् ।

राजधानीमै क्षति

  

राजधानीको मूलपानीमा घरटहरामाथि पहिरो खस्दा एकै परिवारका तीनको मृत्यु भएको छ । बारा जिल्ला घर भई हाल मूलपानीमा बस्दै आएका नितु यादव, शर्मिला यादव र बालक कुन्दन यादवको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडाँैंका प्रमुख उत्तमराज सुवेदीले वर्षाका कारण घरटहरो माथि पहिरो खसेपछि पुरिएर मृत्यु भएको बताए । स्काइभेटरको सहयोगले पहिरोमा पुरिएकाहरूको शव निकालिएको हो ।

  

त्यस्तै बल्खु खोलाले बगाई ल्याएको ग्यास सिलिन्डर समात्न जाँदा एक व्यक्ति बेपत्ता भएका छन् । बगेर बेपत्ता भएका ती व्यक्तिको पहिचान हुन नसकेको जानकारी प्रहरीले दिएको छ ।

एकैघरका तीनको मृत्यु

खोटाङ जिल्लाको खोटाहाङ गाउँपालिका–२ स्थित पहिरोमा परी एउटै परिवारका तीनको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार स्थानीय विष्णु राईको घर पहिरोमा पर्दा उहाँकी श्रीमती रेखा राई, छोरा रोहन राई र छोरी होहना राईको मृत्यु भएको हो ।

काभ्रेको बनेपा नालामा भूकम्पपीडित परिवारको टहरोमाथि पहिरो खस्दा एकै परिवारका दुईको मृत्यु भएको छ भने दुई घाइते छन् । हजुरआमा गङ्गामाया दङ्गाल र सात वर्षीय नाति सोहनी दङ्गालको मृत्यु भएको हो । सुशीला दङ्गाल र उनकी तीन महिनाकी छोरी अनुस्का घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको धुलिखेलस्थित अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी भोजपुरको रामप्रसाद राई गाउँपालिका–७ मा घरको पर्खाल भत्किएर ७७ वर्षीय जगतबहादुर राई र टेम्केमैयामा शौचालय भत्किँदा १४ वर्षीय जनक विकको मृत्यु भएको छ । त्यस्तै रामेछापको करमटारमा घरको पर्खालमा च्यापिएर ४५ वर्षीय पदमकुमारी सुनुवार, सिन्धुलीको फिक्कल भुल्केमा गोठ बगाउँदा हरिमाया सनुवारको मृत्यु भएको छ ।

ललितपुरको बाग्मती गाउँपालिका–३ मा पहिरोमा पुरिएर ११ वर्षीय सरोज जिम्बा तामाङ, धादिङको गजुरीमा पहिरोमा परी आठ वर्षीया अस्मिता तामाङ र मकवानपुरको थाहा नगरपालिकास्थित महावीर खोलाले बगाउँदा बालक सञ्चन बलामीको मृत्यु भएको छ ।

पर्साको गढीमा खोलाले बगाउँदा १० वर्षीय बालक निखिल पटेल र ओखलढुङ्गामा खोलाले बगाउँदा एकको मृत्यु भएको छ ।
काठमाडौँ, चितवन, पाँचथर, इलाम, मोरङ, सुनसरी, महोत्तरी, रौतहट गरी विभिन्न जिल्लामा बाढीले बगाउँदा सात व्यक्ति बेपत्ता भएका छन्, सात घाइते भएका छन् भने चारको उद्धार गरिएको छ ।

  

मन्त्रालयले दुई दिनसम्म लगातार वर्षा भइरहने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ । त्यस्तै उद्धारका लागि सेना, प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र स्वयंसेवक उद्धारकर्तालाई परिचालन गरिएको जनाइएको छ ।

काठमाडौँ उपत्यकाको बाग्मती, विष्णुमती, बल्खु, नख्खु, हनुमन्ते, मोहना र धोबीखोलामा पानीको बहाव बढेसँगै नदी किनाराका बस्तीमा उच्च सुरक्षा सतर्कता अपनाइएको मन्त्रालयले जनाएको छ ।

बल्खु खोलामा आएको बाढीले कलङ्की, खसीबजार र बल्खुक्षेत्र डुबानमा परेको छ ।

स्थानीयका पसल तथा घरहरूमा क्षति पुगेको महानगरीय प्रहरी परिसर काठमाडाँैंले जनाएको छ । प्रहरी प्रधान कार्यालयले वर्षाका कारण नदी, खोला तथा खहरेमा पानीको बहाव बढेसँगै दुई हजारभन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

सिंहदरबारको पर्खाल ढल्यो

अविरल वर्षासँगै गलेर सिंहदरबारको पूर्वतर्फको पर्खाल भत्किएको छ । पर्खाल भत्कँदा मानवीय क्षति नभए पनि अनामनगर क्षेत्रको सवारी आवागमन केही समयका लागि अवरुद्ध भएको थियो । नेपाली सेनाले दुईवटा डोजर प्रयोग गरी सडक सफा गर्नुका साथै अस्थायी पर्खाल लगाएको छ ।

सुरक्षाकर्मी परिचालित

प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण तथा उद्धार गर्न तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभएको छ ।

शुक्रबार ट्विट गर्दै उहाँले सम्भावित जोखिमबाट जोगाउनका लागि पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेकोसमेत जानकारी गराउनुभएको छ ।

उहाँले सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा डुबान समस्या समाधान गर्न दुई देशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको जनाउनुभएको छ ।

प्रधानमन्त्रीले बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीमा परी जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ

Facebook Comments Box