दमक/ लगानिको सहज बताबरण बन्दै जानथाले पछी झापामा उद्योगधन्दाहरु खुल्ने क्रम बढेको छ । पुर्बको व्यापारिक नाकाको रुपमा परिचित झापाको मेचीनगर केही वर्षयता औद्योगिक नगरको रुपमा विकसित हुन थालेको छ ।

यातायात र बैंकिङ सुविधा, कच्चा पदार्थको आयातको सहजता र सुरक्षित लगानीको वातावरणले गर्दा मेचीनगरको ज्यामिरगढी र दुहागढी क्षेत्रमा करोडौं लगानीका नयाँ उद्योगहरु स्थापना भएका छन् । जसका कारण स्थानीयले रोजगारी पाउने क्रम र व्यापारिक चहलपहल बढेको छ ।मेचीनगर वडा नं. १३ दुहागढीमा मनषा थाईफुड्स प्रालिले तयारी चाउचाउको उत्पादन सुरु गरेको छ । दुई सय करोड लगानीमा खुलेको यो उद्योगमा ५० जनाभन्दा बढी स्थानीयले प्रत्यक्ष रोजगारीको अवसर पाएको बजार ब्यबस्थापक बुद्धि घिमिरे बताउँछन् ।

नगरमा दर्जनभन्दा बढी प्लाईउडका कारखाना सञ्चालनमा छन् । कर्मचारी र कामदार गरी हरेक प्लाइउड कारखानामा सयौंले रोजगारी पाएका छन् । सञ्जीवनी, सिद्धार्थ लगायतका प्लाइउड कारखाना ठूलो लगानीमा खुलेका हुन् ।पूर्वमै सबैभन्दा बढी सिमेन्ट उद्योग मेचीनगरमै सञ्चालनमा रहेका छन् । मनषा , हिमालयज, सनराइज, मेगा र गोरखकाली उद्योगबाट उत्पादित गुणस्तरीय सिमेन्टले प्रदेश नं. १ को ठूलो माग धान्दै आएको छ ।
सिमेन्ट उद्योगहरुमा करीव सात सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । कतिपय प्राविधिक कामदार भारतबाट आउने गरे तापनि पछिल्लो समयमा उद्योगहरुले स्वदेशी कामदारलाई नै प्राथमिकता दिने गरेका छन् ।सनराइज र हिमालयाज सिमेन्ट उद्योगका महाप्रबन्धक अमित पोद्दारका अनुसार सनराइजले वार्षिक डेढ लाख र हिमालयाजले ७५ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । ती दुबै उद्योगमा १६० जना स्वदेशी कामदारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

पशु र पंक्षीको आहाराको रुपमा दाना उत्पादन गर्ने उद्योगहरु पनि मेचीनगरमा खुल्ने क्रम बढेको छ । भ्याली एग्रो फिड्स प्रालि नामक दाना उद्योग मेचीनगर–१३ मा रु. ४५ करोडको लगानीमा तिन महिना अघि स्थापना भएर आफ्नो उत्पादनलाई बजारमा पुर्याउन थालिसकेको छ । उद्योगले कुखुरापालन गर्नुका साथै अण्डा र चल्ला उत्पादन समेत गर्दै आएको छ ।

उद्योगका सञ्चालक सुबोध निरौलाले गाईभैसी, सुँगुरबंगुर र कुखुरका लागि आवश्यक पर्ने दाना प्रति घण्टा १० मेट्रिक टनका दरले उत्पादन भइरहेको जानकारी दिनुभयो । कुखुराको अण्डा र मासुमा नेपाल आत्मनिर्भर भइसकेको हुँदा भारतबाट कुखुरा र अण्डाको अबैध आयात रोक्न सबै लाग्नु पर्ने उनको भनाई छ ।

मेचीनगर–१० मा दैनिक ५ हजार जोडा जुत्ता उत्पादन गर्ने क्षमता भएको एसियन फुटवेयर प्रालि नामक कारखाना भर्खरै खुलेको छ । प्रालिका अध्यक्ष छवि पौडेलले रु. १० करोड लगानीमा उद्योग स्थापना गरिएको र ७५ जना स्थानीय कामदारले प्रत्यक्ष रोजगारी पाइरहेको जानकारी दिए ।
सुरक्षित लगानीको वातावरण बनेपछि मेचीनगरमा उद्योगी व्यवसायीहरु आकर्षित भइरहेको मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना बताउँछन् । उनका अनुसार भारतबाट कच्चा पदार्थ आयात गर्न भन्सार विन्दु नजिक हुनु र मुलुकभित्र लगानी सुरक्षाको वातावरण सिर्जना हुनुले मेचीनगर औद्योगिक हबको रुपमा विकसित भइरहेको छ ।

मेची उद्योग वाणिज्य सङ्घमा आर्थिक वर्ष २०७५÷०७६ मा ३८४ वटा व्यावसायिक फर्म थपिएको तिम्सिना बताउँछन् । उनले नगरमा चाउचाउ, जुस, पानी, दाना, जुत्ता चप्पल, लुब्रिकेन्ट्स उद्योगहरू धमाधम खुल्ने क्रममा रहेको बताए ।

मेचीनगर भारत, भूटान र बंगलादेशसँग प्रत्यक्ष व्यापारिक सम्बन्ध भएको व्यापारिक नाका भएको हुँदा यहाँ पाँचतारे होटल र क्यासिनो खुल्ने क्रम चलिरहेको छ । मेचीनगर–७ मा मेची क्राउन नाम पाँचतारे होटलको निर्माण अन्तिम चरणमा रहेको छ ।

काँकरभिट्टा, धुलाबारी, चारआली लगायतका स्थानहरुमा सनराइज, कन्काई, एक्सेल, प्रभु, एनआइसी एसिया, माछापुच्छ्रे, सिद्घार्थ, ग्लोबल आइएमई लगायतका बैङ्कका शाखाहरु रहेका छन । अहिले ती बैंकहरुको भरपर्दो लगानीको क्षेत्र यस क्षेत्रमा सन्चालित उद्योगहरु नै भएका छन ।

Facebook Comments Box