धनकुटा/ धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । बेलुका ७ बजे लागेको आगोबाट बजारको काउली चौक नजिकका घरहरू पूर्णरूपमा जलेर नष्ट भएको स्थानीयवासी दीपक खड्काले जानकारी दिए । “के भएर आगलागी भयो थाहा भएको छैन, एउटा घरको नाम निशान छैन, अरु घर पनि धेरै जलेका छन्”, उनले भने। आगलागीबाट स्थानीय होम बहादुर थापा, डम्बर थापा, झमक थापा र अर्जुन घिमिरेको घर जलेको छ । झमक थापाको घरबाट आगलागी सुरु भएको बताइएको छ ।

छिमेकी जिल्ला तेह्रथुमको लालिगुराँस नगरपालिका बसन्तपुर बजारबाट आएको दमकल र छथर जोरपाटी गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा आगो नियन्त्रणमा आएको खड्काले जानकारी दिए।

त्यसैगरि, आगो नियन्त्रणका लागि तेह्रथुम जिल्लाको म्याङलुङ र धनकुटा नगरपालिकाबाट दमकल र पानीका ट्याङकरहरू परिचालित भएको जिल्ला प्रहरी कार्यालय धनकुटाको कन्ट्रोल रुमले जानकारी दिएको छ ।

Facebook Comments Box