तीन श्रष्टाहरु पुरस्कृत हुने

दमक/ यहाँस्थित साहित्य कला संगमले विभिन्न तीन वटा पुरस्कारका पुरस्कृत हुने सात जना श्रष्टाको नाम घोषणा गरेको छ । संस्थाले वितरण गरिआएको भवानी मिश्र पुरस्कार, साहित्यकला श्री पुरस्कार र स्व. तुलसादेवी न्यौपाने स्मृति पुरस्कारका पुरस्कृत प्रतिभाहरु छनौट गरि नाम घोषणा गरिएको संगमका अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिए ।
जसअनुसार भवानी मिश्र पुरस्कारबाट चुडामणी रेग्मी (झापा ), प्रतिभा पौडेल (इलाम ) ,मुकुन्द प्रयास (धनकुटा ), हिक्मत नेम्बाङ ( कन्काई ) र बुद्धवीर राणा (भारत ) पुरस्कृत गरिने निर्णयमा उल्लेख छ ।
यसैगरि, साहित्यकला श्री पुरस्कारबाट श्रष्टा युवराज नयाँघरे (काठमाडौ) र स्व.तुलसादेवी न्यौपाने स्मृति पुरस्कारबाट झापा, गौरादह निवासी अग्रज लोकगायक सिताराम ताजपुरियालाई पुरस्कृत गरिने कार्यक्रम रहेको अध्यक्ष न्यौपानेले बताए । त्यसमध्ये स्व.न्यौपानेको स्मृतिमा दमक निवासी उनका छोराहरु डा.लेखनाथ न्यौपाने लगायतका दाजुभाईहरुले कोष स्थापना गरेका हुन् । सो पुरस्कारको राशी रु ३५ हजार, सम्मानपत्र छ ।
पुरस्कार आगामी चैत २५ गते भव्य कार्यक्रम गरि वितरण गरिने आयोजक संस्थाका सचिव दिपक सुवेदीले बताए ।

