भद्रपुर /   झापामा बुधवारदेखि बढेको अध्यधिक गर्मी अझै कम हुन सकेको छैन । गर्मी बढ्दै गएपछि विरामी हुनेहरुको संख्या बढ्न थालेको छ । झापा भद्रपुर ५ स्थित मेची नदीमा दाहसंस्कार लागि जाने मलामीजन असुरक्षित महसुस गर्न थालेका छन् । गर्मी, बर्खा र जाडो महिनामा नदी किनारमा जाने मलामीजनको लागि मलामी घर र घाटको व्यवस्थापन नहुँदा उनीहरू असुरिक्षत महसुस गर्न थालेको हो ।

यसैक्रममा अत्यधिक गर्मीका कारण मलामी गएका एक व्यक्तिको मृत्यु भएको छ । अत्यधिक गर्मीका कारण मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ बस्ने अन्दाजी ६० वर्षीय सिताराम यादव रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बुधवार बिहान झुण्डिएर आत्महत्या गरेका भद्रपुर ६ बस्ने १८ वर्षीय रोहण यादवलाई मेची नदीमा दाहसंस्कारका लागि लगिएको थियो । सिताराम बुधवार दिउँसो रोहणको मलामी गएका थिए । बुधवार झापामा अत्यधिक गर्मी रहेको थियो ।

मलामी गएका यादवसहित भद्रपुर ६ बस्ने राजु यादव पनि अत्यधिक गर्मीका कारण मेची नदी किनारमै बेहोस भएका थिए । मलामीमै बेहोस भएका दुवै जनालाई तत्काल उपचारका लागि मेची अञ्चल अस्पताल लगिएको थियो ।

बेहोस भएका सितारामको अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको र उनको उपचारको क्रममा त्यही अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए ।

पारिवारिक स्रोतका अनुसार मृतक सिताराम मुटु रोगी बिरामी थिए । यता गर्मीका कारण बेहोस भएका राजुको उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । ‘तीन दिनदेखि झापामा अत्यधिक गर्मी बढेको छ’, प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘मेची नदीमा दाहसंस्कारका लागि मलामी जाने व्यक्तिहरूको बस्ने मलामी घर नहुँदा यस्तो घटना हुन पुग्यो ।’

Facebook Comments Box