बिर्तामोड, ३ फागुन। बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन भोलि शुक्रबारदेखि ऐतिहासिक सैनिक महोत्सव सुरु हुँदैछ ।

बिर्तामोड नगरपालिका १० नम्बर वडा कार्यालयको आयोजनामा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ । समितिले बिहीबार पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी दिएको हो । वडाध्यक्ष दुर्योधन गुरुङले महोत्सवमा ४० वटा स्टल रहने बताउँदै विभिन्न खेल तमासा, मनोरञ्जनका साधन, दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुती, विभिन्न जातजातिको झाँकी प्रस्तुत गरिने जानकारी दिए ।
उनले महोत्सवका लागि प्रचारप्रसारलाई तिव्रता दिएको बताए । महोत्सव मूल आयोजक समितिका अध्यक्ष अर्जुन सिटौलाले महोत्सवमा पूर्व राष्ट्रिय फुटबल खेलाडी रामदर्शन गुरुङ, प्रशिक्षक प्रवेश कटुवाल, खेलाडी किरण राई, महिला फुटबल कोच कविता गुरुङ, क्रिकेट खेलाडी शान्ति खतिवडा, सगरमाथा आरोही शारदा रायमाझी, युवा कृषक विशाल राईलगायतका राष्ट्रिय प्रतिभाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिए । महोत्सवमा मध्यपान र धुम्रपान पूर्णरुपमा निषेध गरिएको उनले बताए । त्यसैगरी महोत्सवका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरी सहायक निरीक्षकको कमाण्डमा ९ जना प्रहरीको टोली बिहीबारदेखि खटाइएको अस्थायी प्रहरी चौकी विर्ताबजारकी इन्चार्ज असई जानुका चौहानले बताए । महोत्सव फागुन १३ गतेसम्म चल्नेछ ।

Facebook Comments Box