किरात संस्कृतिको पहिचान खुवालुङ नफोर्न निर्देशन

उदयपुर- सरकारले किराँत सभ्यता र आस्थासँग जोडिएको विशेष ढुंगा मास्न पछि हट्ने संकेत गरेकाे छ। किराँत समुदाय र नागरिक अभियन्ताको विरोधपछि अरुण, तमोर र दूधकोसीको संगम त्रिवेणीमा रहेको ढुंगा (खुवालुङ) फुटाउन सरकारले पछि हटेको संकेत गरेकाे हाे।
यद्यपि यसबारे आधिकारिक निर्णय भइसकेकाे छैन। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई खुवालुङ नफुटाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताउँछन्। उनका अनुसार प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख लगायतलाई ढुंगा नफोर्न निर्देशन दिइएको हो।

भोजपुर, उदयपुर, धनकुटाको संगमस्थलमा रहेको यो ढुंगालाई किराँत राई भाषामा खुवालुङ भनिन्छ। किराँत समुदाय यसलाई किराँत संस्कृति र सभ्यताको प्रतीक मान्छन्।

मुख्यमन्त्री राई भन्छन्, ‘खुबालुङबारे मलाई पनि त्यति जानकारी थिएन। खुवालुङ फुटाउन हुँदैन भन्ने ज्ञापनपत्र प्राप्त भएपछि स्पष्ट भएँ।’

संस्कृतिसँग सम्बन्धित संवेदनशील विषय भएकाले यसबारे चाँडै निर्णय गर्ने उनको भनाइ छ। उनी भन्छन्, ‘प्रधानमन्त्रीले सीधै ढुंगा फुटाउने बोल्नुभएछ, मलाई त्यही ढुंगा हो भन्ने लाग्यो र मैले अहिले त्यो ढुंगा नफुटाउन निर्देशन दिएको छु।’

आफूले उक्त क्षेत्रमा प्रधानमन्त्रीले गर्न लागेको भ्रमण पनि रोकेको मुख्यमन्त्री राईले स्पष्ट पारे।

उनले भने, ‘निजी क्षेत्रका केही साथीहरुबीच प्रधानमन्त्रीलाई त्यस क्षेत्रको भ्रमण गराउनुअघि ढुंगा फुटाउनुपर्छ भन्ने कुराकानी भएको रहेछ। मैले त्यो थाहा पाएपछि प्रधानमन्त्रीको भ्रमण रोकें।’

उनका अनुसार खुवालुङका विषयमा किराँत समुदायभित्रै दुईमत छ। उनी भन्छन्, ‘खुवालुङबारे अध्ययन गरेर कसरी जाने निर्क्याेल गर्नेछौं।’ सबै पक्षसँग छलफलपछि खुवालुङको संरक्षण गर्न लागिएको उनी बताउँछन्।

उनी भन्छन्, ‘खुवालुङका कारण सबै कुरा बन्द हुन दिँदैनौं। विभिन्न विकल्पमा छलफल गरेर निर्णय गर्छौंं।’

सार्न मिल्ने भए सारेर संरक्षण गर्ने, विशेष खालको केन्द्र बनाउने, नदीको बहाव मोड्ने जस्ता विकल्प रहेको उनको भनाइ छ।

जेटबोट सञ्चालनका लागि बाटो सहज बनाउन खुवालुङ फुटाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिपछि यसको विरोध भएको थियो।

अभियन्ताले जातीय संस्कृतिको पहिचान मास्न नहुने भन्दै त्यहीं पुगेर सरकारको ध्यानाकर्षण गराएका थिए।

यस्तै सुनसरी, भोजपुर लगायतका जिल्लामा ढुंगा फुटाउन नहुने भन्दै संघर्षका कार्यक्रम सुरु गरेका थिए।

फागुन ८ गते प्रधानमन्त्री ओलीले विराटनगरको एक कार्यक्रममा भनेका थिए, ‘अहिले स्टिमरले सप्तकोसीमा ११ मिनेटमा चताराबाट भोजपुर पर्‍याउँछ, ११ मिनेटमा ल्याउँछ। त्यहाँ बाधा भएको एउटा ढुंगो, त्यसलाई क्रेन लगाएर फुटाउँदै छौं र नदीको बाटो क्लियर गर्दै छौं।’

 

सामान्य ढुंगा मात्रै देखिए पनि किराँती सभ्यतासँग जोडिएकाले त्यसलाई मेटाउन नहुने किराँत समुदायका अगुवाको भनाइ छ।

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध हुन थालेपछि ढुंगा फुटाउन सप्तकोसी जलमार्ग निर्माण उपभोक्ता समिति पनि पछि हटेको छ।

समितिका अध्यक्ष विशाल राई भन्छन्, ‘हामीले सहज यात्राका लागि उक्त ढुंगा फोर्ने भनेका थियौं तर किराँतको सभ्यता जोडिएको कुरा बाहिर आएपछि नफुटाउने पक्षमा छौं।’

खुवालुङले गर्दा जेटबोटको यात्रा गर्न अवरोध भइरहेको उनी बताउँछन्। यस्तै त्यो ढुंगा खुवालुङ नै हो भनेर पहिचान गर्ने आधार स्पष्ट नभएको उनको दाबी छ।

उनी भन्छन्, ‘बूढापाकाका अनुसार त्रिवेणीमा देखिएको खुवालुङ भनेर दाबी गरिएको ढुंगा २०२५ सालदेखि देखिन थालेको हो। मुन्धुममा उल्लेख गरिएको ढुंगा त्यही हो भन्ने स्पष्ट छैन।’

चार सय वर्षअगाडि लेखिएको मुन्धुममा ५० वर्षअगाडि देखिएको ढुंगा कसरी खुवालुङ हो भनेर स्पष्ट पार्न अनुसन्धान गर्नुपर्ने उनी बताउँछन्।

अध्यक्ष राई भन्छन्, ‘खुवालुङ यही नै हो भनेर पहिचान नगरी अहिले दाबी गरिएको ढुंगालाई जोगाएर अरू ढुंगा फुटाउँदा वास्तविक खुवालुङ फुटाइयो भने के होला?’

नदीले धार परिवर्तन गर्दा गिटी, बालुवा, फोहर छेउछाउमा थुपार्छ। समितिले ती फोहर सफा गर्नुभन्दा बीचको एउटा ढुंगा फुटाउँदा उपयुक्त हुने प्रस्ताव गरेको थियो।

राई भन्छन्, ‘नदी सफा गर्न समस्या हुने भएकाले बीचबाट जहाज चलाउन ढुंगा फोर्न प्रस्ताव गरेका हौं।’

सुनसरीको चताराघाटदेखि खुवालुङसम्मको दूरी १४ किलोमिटर छ। चतारबाट हिँडेर पुग्न घण्टौं लाग्छ। जेटबोटबाट १० मिनेटमै पुग्न सकिन्छ। अहिले नदीमा दुई वटा जेटबोट र चार वटा ओबीएम बोट सञ्चालनमा छन्। नदीको दूरी भने १२ किलोमिटर छ।

३०–३५ जना यात्रु बोक्ने जेटबोट खुवालुङ पार गरेर अघि बढ्न सक्छ। ७० सिट क्षमताको भेसलका लागि खुवालुङले अवरोध गरिरहेको राई बताउँछन्।

खुवालुङ फुटाउन आफूहरूले पानीजहाज कार्यालयमा प्रस्ताव मात्र पेस गरेको अध्यक्ष राई बताउँछन्। उनी भन्छन्, ‘कार्यालयले योजना बनाउनुुस्, आर्थिक सहयोग गरौंला मात्रै भनेको छ।’

किराँत धर्म संघ नेपाल मुन्धुम परिषद्का संयोजक एवम् मुन्धुम अध्येता इन्द्रहाङ खम्बुले विकासका नाममा प्रधानमन्त्रीले आफ्नो समुदायको संस्कृति मास्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए।

उनले भने, ‘खुवालुङ हाम्रो शक्ति हो। यसलाई फुटाउन वा अन्य ठाउँमा लैजान सम्भव छैन। खुवालुङ नदीमा नै हुनुपर्छ त्यो पनि अरुण, तमोर र दूधकोसीको त्रिवेणी संगमस्थलमा। यो संगमस्थल अन्य ठाउँमा छैन। संस्कृतिविरुद्ध प्रधानमन्त्रीको अभिव्यक्ति क्षम्य हुन सक्दैन।’

किराँत विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राई किराँत आफूहरूको आस्थामाथि प्रधानमन्त्रीले प्रहार गरेको बताउँछन्।

‘प्रधानमन्त्रीले खुवालुङबारे केही जानकारी नलिई पक्कै बोल्नुभएन होला’, उनी भन्छन्, पशुपतिमा करोडौंको खर्च गरेर सुनको जलहरी चढाउने राज्यले यहाँ स्थापित हाम्रो सभ्यतालाई कुल्चिएको छ। हामी यो बचाउन संघर्ष गर्छौं।’

विकल्प हुँदाहुँदै किन खुवालुङ मास्न खोजियो भन्ने प्रश्न गर्छन् आदिवासी जनजाति साहित्यकार महासंघका संयोजक राजन मुकारुङ।

उनी भन्छन्, ‘किराँतीहरु विकासविरोधी होइनन्। विकल्प हुँदाहुँदै किराँतको आस्थामाथि प्रहार गर्ने सुनुयोजित चाल हो। बहुसांस्कृतिक देशमा यस प्रकारको विभेद किराँतलाई सह्य नहुने उनको भनाइ छ।

बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा भने खुवालुङ फुटाउने विषयमा विरोध गर्नुको औचित्य नरहेको तर्क गर्छन्।

उनी भन्छन्, ‘यो जेटबोट सञ्चालनका लागि विरोध गर्नेहरूको अर्को व्यापारिक रणनीति हो।’ उनका अनुसार चताराघाटबाट निस्किएको जेटबोट खुवालुङका कारण त्रिवेणी संगमस्थलमा रोकिनुपर्छ। त्यसबाट त्यहाँको व्यापारिक केन्द्र फस्टाउँछ, सोही व्यापारका लागि ढुंगा फुटाउन रोक्न खोजिएको हो।

थापाले भनेजस्तो उक्त स्थानमा कुनै व्यापारिक केन्द्र देखिँदैन। त्यहाँ बाँस र स्याउला बनेको एउटा छाप्रो छ। त्यहाँ बिस्कुट, पानी, फ्रुटी र केही चाउचाउ राखेर व्यापार गर्दै आएकी छन्, साँगुरीगढी धनकुटाकी दुर्गा राई।

राई पनि खुवालुङ फुटाउन नहुने पक्षमा छिन्। उनी भन्छिन्, ‘हामी नफुटाउने अभियानमा छौं। यहाँ व्यापार गरेर खासै फाइदा हुँदैन।’

वर्षौंदेखि सप्तकोसीमा माछा मार्दै आएका धनकुटाका स्थानीय भीमबहादुर राई भन्छन्, ‘ढुंगा फुटाउने भनिएको छ रे, खुवालुङ फुटायो भने हामीलाई अनर्थ हुन सक्छ। नराम्रो क्षति भयो भने सरकारले बेहोर्छ?’

खुवालुङ नजिकै धनकुटातर्फ टहराेमा राखिएकाे पसल।
सांस्कृतिक सिमाना खुवालुङ

मुन्धुम अध्येता इन्द्रहाङ खम्बुका अनुसार किराँत भाषामा खुवा भनेको पानी र लुङ भनेको ढुंगा हो। किराँत धर्मग्रन्थ मुन्धुममा पनि खुवालुङबारे उल्लेख छ।

किराँत समुदायले कुनै पनि कार्यको सुरु गर्दा वा अन्तिममा खुवालुङको नाम उच्चारण गर्ने परम्परा छ। उनले किराँतीको पुर्खा खुवालुङबाट विभिन्न क्षेत्रमा फैलिएको विश्वास गरिन्छ।

किराँत राईका आदिम पुर्खा मुकुबुङ (भोटे) जेठा, हर्कबुङ (किरात) माइला र रिब्लबुङ (थारू) कान्छा गरी तीन भाइ थिए। उनीहरू समथर भूमिबाट उकालो लागेर खुवालुङ पुग्दा ढोका बन्द थियो। मुकुबुङले केकी (जुरेली) चराको भोग दिएपछि ढोका खुल्यो र उनी पार गरे।

माइला भाइ हर्कबुङ पार गर्न सकेनन्। उनले पनि सँगै रहेकी चेलीको कान्छीऔंला काटेर रगत दिएपछि ढोका खुल्यो र पार गरे।

कान्छा रिब्लबुङले नदी पार गर्न सकेनन् भने दाइहरू गएको बाटो पनि पत्ता लगाउन सकेनन्। त्यसपछि उनी तराईतिर फर्किएर बसोबास गरे।

मुकुबुङको सन्तान हिमाली भेगसम्म पुगेर त्यहीं बसोबास गरे। हर्कबुङका सन्तान कोही सुनकोसीको किनारमा आसपासमा बसोबास गरे र कोही दूधकोसी पछ्याउँदै सोलुखम्बुको आसपासमा बसोबास गरे।

कालान्तरमा कुलुङ, थुलुङ, बाहिङ, खालिङ, बाम्बुले, बान्तवा, दुङमाली भए। अरुण नदी पछ्याउँदै संखुवासभा, क्षेत्रमा बसोबास गर्नेहरु कालान्तरमा मेवाहाङ, याम्फु, लोहोरुङ राई भाषिक समुदायका भए।

तमोर पहिल्याउँदै त्यसैको आसपासमा बसोबास गर्नेहरू आठपहरिया, छिलिङ, छिन्ताङ्, मुगाली आदि राई भाषिक समुदाय भए भन्ने बताइन्छ। यसरी आफूहरूका पुर्खाले मान्दै आएको खुवालुङ सांस्कृतिक सिमानाका रूपमा रहँदै आएको अध्येता खम्बुको भनाइ छ।

सोमबार, ०२ चैत, २०७७, साँझको ०६:३५ बजे

सम्बन्धित खवर