जेठ ३२, २०७६ काठमाडौं /  सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलान भत्किँदा दाङमा तीन मजदुरको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। भारत झारखण्ड निवासी ४५ वर्षका मंगल कस्यव, २२ वर्षका दयाल हरेन र ४६ वर्षका साहेबको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिए। लमही नगरपालिका ७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा छैटौँ तलाको ‘सट्रिङ’ भत्किएको हो। प्रहरीका अनुसार घटना राति २ बजे भएको हो। घटनामा घाइते भएका अजय हेरेन र नरेन साइवनलाई लमहिमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ। दिउँसो काम गर्दा गर्मी बढी हुने भएकाले उनीहरु रातको समयमा काम गरिरहेका थिए।

Facebook Comments Box