सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ । सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेको छ ।

संचालकले मनोमानी ढंगले रकम चलाउन थालेपछि समस्या बढ्दै गएको हो । जसले गर्दा एकपछि अर्को सहकारी संस्थामा निक्षेपकर्ताको रकम जोखिममा पर्न थालेको छ । विराटनगरको ठूलो सहकारीको रुपमा चिनिएको तुलसी बहुमुखी सहकारीमा बचत र मुद्दती बचत गरेका निक्षेपकर्ताको करोडौं रूपैयाँ जोखिममा परेको छ । दुःख गरेर आर्जेको रकम जोखिममा पर्ने भएपछि निक्षेपकर्ताहरु आन्दोलनमा होमिएका छन् ।

बचत गरेको रकम दिनुपर्ने माग राख्दै तुलसी सहकारीका सदस्यहरूले सहकारी सञ्चालक र अध्यक्षको घर घेरेपछि प्रहरीले त्यसका सञ्चालकलाई पक्राउ गरेको छ । बचत गरेको रकम साँवा र ब्यासहित दिनुपर्ने माग राख्दै निरन्तर रुपमा निक्षेपकर्ताहरू आन्दोलनमा उत्रिएपछि प्रहरीले सहकारीका उपाध्यक्ष र सचिवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिकाबहादुर कार्कीले जानकारी दिए । प्रहरीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा निक्षेपकर्ताहरुसँग प्रशासनको छलफल भएको थियो । ‘छलफलमा ढिलोमा पाँच दिनसम्म अवधि पूरा भएको निक्षेपकर्ताहरुको रकम फिर्ता दिए पक्राउ परेका सचिव र उपाध्यक्षलाई प्रहरीले छोड्ने छ । नभए प्रहरीले कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाउने सहमति भएको छ,’ डिएसपी कार्कीले भने, ‘अहिले अभद्र व्यवहारमा म्याद थप गरिएको छ ।’

अनेकौं बेथितिबाट गुज्रेको सहकारीले आफ्नो क्षेत्रअधिकार भन्दा बाहिर गएर सहकारी ऐन अनुसार काम कारवाही नगर्दा तुलसी सहकारीको करोडौं रुपैयाँ जोखिममा रहेको छ ।

विराटनगरकी ४ की बिमला भट्टराईले तुलसी सहकारीमा मुद्दती खातामा १८ लाख जम्मा गरेको वर्ष दिन पूरा भइसक्दा पनि सहकारीले साँवा र ब्याज रकम दिन आलटाल गरेको बताइन् । ‘मुद्दती खातामा जम्मा गरेको अवधि पूरा भइसक्दा पनि सहकारीले अहिलेसम्म साँवा र ब्याज दिन सकेको छैन,’ उनले भनिन्, ‘सहकारी धाएको महिनौं हुन लागिसक्यो । तर, सहकारीले भाखा दिँदै फर्काउने गरेको छ ।’ उनका अनुसार शुक्रबार सहकारीले साँवा र ब्याज रकम दिने भने पनि अहिलेसम्म नदिएको उनले बताइन् । ‘सहकारीले दिएको समयसीमा दुई दिन बितिसक्दा पनि बचत गरेको रकम नदिएपछि सहकारी आएका थियौं । यहाँ सहकारीका संचालक र समिति पनि भेटन पाएनौं । अहिले अध्यक्ष पनि सम्र्पकविहीन हुनुभएको छ ।’

विराटनगरकी ममता कुमारी साहले पनि तुलसी बहुमुखी सहकारीमा बचत गरेको १८ लाख रुपैयाँ पाउनुपर्ने बताइन् । ‘फिक्स डिपोजिट गरेको वर्ष दिन भयो । अवधि पूरा भएपछि सहकारीमा पैसा लिन आएको हप्तौ बितिसक्यो । अहिलेसम्म दिने छाँटकाँट छैन,’ उनले भनिन् ।
‘आफूसँग भएको रकम सबै यही सहकारीमा बचत गरेको छु,’ उनले भनिन्, ‘ जम्मा गरेको रकम सहकारीले दिएन भने म त सडकमा आउँछु ।’

तुलसी सहकारीमा अहिले जम्मा गरेको रकम फिर्ता लिन आउनेको भिड लाग्ने गरेको छ । पछिल्लो दश दिनयता बचतकर्ताले रकम लिन जाँदा संस्थाका अध्यक्षसहितका सञ्चालक समिति र कर्मचारी भेटिन छाडेका छन् । सहकारीका अध्यक्ष केदारनाथ शर्मा हुन् । उनी अहिले कार्यालयमा आउने नगरेको त्यहाँका कर्मचारीले बताएका छन् । २०७१ सालमा सहकारी स्थापना भएको थियो । बचतकर्तालाई आकर्षक ब्याज दिने भन्दै जम्मा गरेको रकम दिन आलटाल गरेपछि बचतकर्ता आन्दोलित भएका थिए ।

सहकारीमा भुक्तानी असन्तुलन भएका कारण यस्तो समस्या आएको सञ्चालकले बताउने गरेका छन् । तर, बचतकर्ताको रकम झिकेर सञ्चालकले मनोमानी व्यक्तिगत खर्च गरेका कारण सहकारीमा समस्या आएको बुझिएको छ । तुलसीको उदयपुरस्थित गाईघाटमा रहेको शाखामासमेत नै तालाबन्दी भएको छ ।

सहकारीले टाँसेको सूचनामा भने हाल विश्वव्यापी रुपमा भइरहेको आर्थिक मन्दीको प्रभाव परेको उल्लेख छ । लगानी गरेको रकम फिर्ता नआउँदा समस्या परेको उल्लेख गरिए पनि सञ्चालक सम्पर्कमा नआउँदा र बचतकर्ता सामु सहकारीको अवस्था सार्वजनिक नगर्दा समस्या देखिएको छ ।

सहकारीका मेनेजर सिताराम अधिकारीले बचतकर्ताको सम्पूर्ण रकम फिर्ता दिने बताए । ‘अहिले तरलता अभावको कारणले समस्या आएको हो,’ उनले भने, ‘जम्मा गरेको बचतकर्ताहरुको रकम क्रमश फिर्ता दिनेछौं । केही समय लाग्छ । तरलता अभावको कारणले समस्या आएको हो । यो समस्या समाधान गर्नेतर्फ सहकारीका संचालकहरु लागिपरेका छौं । बिस्तारै सबैको पैसा फिर्ता हुनेछ ।’

Facebook Comments Box