चैत २, २०७५ रसुवा / नेपाल र चीनबीच सबैभन्दा छोटो दूरीको व्यापारिक रसुवागढी नाकामा पर्ने मैलुङ–स्याफ्रुबेंसी सडकको ट्रयाक खोलिएको छ। वर्षायाममा झरेको ढुङ्गा बुधबार पन्छ्याएपछि ट्रयाक खोलिएको हो। बिहीबारदेखि साना सवारी साधान सञ्चालनमा आएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका इन्जिनियर पारस हमालले जानकारी दिए। यस सडकखण्डमा साना सवारीसाधन सञ्चालनमा आए पनि ठूला सवारीसाधन सञ्चालनमा आउन अझै एक महिना लाग्ने छ। ‘सुरक्षाको हिसाबले पनि अहिले यो सडकमा ठूला सवारी सञ्चालन गर्न मिल्दैन्,’ इन्जिनियर हमालले भने, ‘सडक क्लियर गरी पूर्ण रुपमा सवारी सञ्चालनमा आउन अझै एक महिना लाग्छ।’ त्यसैगरी मैलुङ–स्याफ्रु जोड्ने सडकको त्रिशुली खोलामा ग्रेगर ढुङ्गाले पुरेर तत्काल साना सवारी आवातजावतका लागि सहज बनाइएको बताइएको छ। उक्त स्थानमा पुल निर्माणका लागि प्रक्रिया अघि बढेको हमालले बताए। त्यस्तै, यसअघि सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन गर्नुपर्ने र विष्फोटक पदार्थ प्रयोगका लागि समयमै अनुमति नपाउँदा सडक स्तरोन्नतिमा ढिलाइ भएको थियो। सडक स्तरोन्नतिको काम पुस अन्तिम साताबाट मात्र सुरु भएको थियो। २०७२ बैसाख १ देखि निर्माण कार्य सुरु भएको सडकको गत जेठ ६ मा ट्रयाक खोल्ने कार्य सम्पन्न भएको थियो। ट्रयाक खोलेपछि केही दिन सवारी सञ्चालनका लागि अनुमति दिइएको थियो। राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो। सो सडकखण्डको लम्बाई १७ किलोमिटर रहेको छ। २५ किमि छोटो दूरी हुने नेपाली सेनाले निर्माण गरेको यो सडक बेत्रावती–कालीकास्थान–धुन्चे–स्याफ्रु सडकभन्दा २५ किलोमिटर छोटो हुने छ। बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रु ५४ किलोमिटर छ। बेत्रावती–मैलुङ–स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ। पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने धुन्चेखण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती छैन। काठमाडौंदेखि बेत्रावती–धुन्चे–रसुवगढीको दूरी १४५ किलोमिटर रहेको छ भने काठमाडौंबाट बेत्रावती मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी १२२ किलोमिटर हुने छ। चीनसँगको व्यापारिक नाका तातोपानी बन्द भएपछि रसुवागढी नाका मात्र रहेको छ।

Facebook Comments Box