पञ्जाब पुलिस क्लब र एपीएफ विराट गोल्डकपको उपाधिका लागि भीड्ने

विराटनगर \  विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरी बलको टोली एपीएफले भारतको पञ्जाव पुलिस क्लबको सामना गर्ने भएको छ।

विराटनगरमा बिहीबार सम्पन्न सेमीफाइनलमा संकटा क्लबलाई १ शून्यले स्तब्ध बनाउँदै पञ्जाब पुलिस क्लबले फाइनलको यात्रा सुनिश्चित गरेको हो।

यसअघि विराटनगर महानगरपालिकालाई पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरिसकेको छ। बिहीबार राती भएको खेलमा जित हात पारेको पञ्जाबका लागि परमजीत सिंहले गोल गरेका थिए।

खेलको सुरुआतबाटै दुवै टोली आक्रमक रुपमा मैदानमा प्रस्तुत भएका थिए। खेलको १५ औँ मिनेटमा गणेश हमालले डिबक्स नजिकबाट निकालिदिएको क्रसमा एडो ग्लोरीले सशक्त हेड गरेका थिए। तर पञ्जाबका गोलकिपर सतवीर सिंहले राम्रो बचाउ गरेका थिए। खेलको ३५ औँ मिनेटमा पञ्जाबका अमनप्रितले निकालेको लामो क्रसलाई स्ट्राइकर राजबिर सिंहले खेर फालेका थिए।

पहिलो हाफमा दुवै टोलीले गोलका लागि अवसर बनाए पनि त्यसलाई नतिजामा बदल्न असफल भएका थिए। दोस्रो हाफ पनि पञ्जाबको टोली थप आक्रामक बन्दै गएको थियो। खेलको ६० औँ मिनेटमा संकटाका फोफोनाका क्रसमा डिबक्सभित्रबाट ग्लोरी हेड गर्न चुक्दा टोली गोल गर्ने अवसरबाट बन्चित भएको थियो।

त्यसलगत्तै खेलको ७४ औँ मिनेटमा विवेक राईले प्रहार गरेको कर्नरमा अनमार्क सइद स्मार्टले गरेको सशक्त हेडमा पञ्जाबका गोलकिपर सतविर सिंह बचाव गर्न सफल भएका थिए।

त्यसपछि खेलको ७६ औँ मिनेटमा परमजीत सिंहले आकर्षक गोल गरेपछि खेल पञ्जाबको पोल्टामा पुगेको थियो।

सेमीफाइनलबाट बाहिरिएपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले पाएको राम्रो अवसरलाई सुदपयोग गर्न नसक्नु नै हारको कारण बनेको बताए।

अर्कोतर्फ, फाइनलमा प्रवेश गरेको पञ्जाबका प्रशिक्षक हरनेक सिंहले विराटनगरको दर्शकको साथ र समर्थनसँगै टोलीको खेलबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिए।

खेल सकिएपछि रातो कार्ड


रेफ्री श्याम दनुवारले निर्धारित समयको खेल सकिएको जानकारी गराइसकेपछि मैदानमा केहीबेर तनाव भयो।

खेल सकिसकेपछि मैदानमा संकटाका सईद स्मार्ट र लभप्रित घईबीच हात हालाहालको अवस्था सृजना भएको थियो। सईदले सुरुमा लभप्रितमाथि हात हालेपछि बढेको तनावलाई कम गराउन अफिसियल र आयोजकलाई केही समय लागेको थियो।

सो क्रममा रेफ्री दनुवारसहितको टोलीले घटनामा संलग्न भएको जनाउँदै पञ्जाबका कप्तान जगदीप सिंह र संकटाका स्मार्टलाई रातो कार्ड दिए।

यससँगै जगदीपले फाइनलमा खेल्न नपाउने भएका छन्। सो निर्णयमा पञ्जाबको टोलीको असन्तुष्टि रहेको थियो। पञ्जाबका प्रशिक्षक हरनेक सिंहले घटनाबारे रेफ्रीले चाडो निर्णय लिएको र स्वतन्त्र निर्णय नभएको जनाउँदै आपत्ति जनाए।

शुक्रबार, ०३ बैशाख, २०७८, बिहानको ०७:३८ बजे

सम्बन्धित खवर