कर्णालीको सन्देश : प्रधानमन्त्रीको कुर्सी पनि सुरक्षीत छैन

बैकल्पिक खवर

सुर्खेत / आज कर्णाली प्रदेशसभामा जे देखियो त्यसले प्रधानमन्त्रीको पद पनि सुरक्षीत नभएको तर्फ संकेत गरेको छ । जसपाको एउटा पक्षलाई मधेसका माग सम्बोधन गर्ने नाममा अलमल्याएर सत्ता जोगाउने प्रधानमन्त्री केपि शर्मा ओलिको कुर्सी आफ्नै पार्टीका कारण धरापमा पर्ने निश्चित जस्तै देखिएको छ ।आफ्नो पदको मोह नगरी एमालेको माधव नेपाल पक्षका चार जना सांसदले फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका छन् ।

यसले केन्द्रीय राजनीतिलाई पनि प्रभाव पार्ने निश्चित छ । ओली सरकारले जनता समाजवादी पार्टी (जसपा)कै साथ पाएपनि माधव पक्षले फ्लोर क्रस गरिदियो भने सरकार जोगिन सम्भव हुने छैन। कर्णालीको घटनाले राजनीतिमा नयाँ खाले ध्रुवीकरणको रेखा कोरेको छ । आगामी घटनाक्रमहरु तीब्र गतिमा विकसित हुने संकेत मिलेको छ ।

नेपाली काँग्रेसले मात्र कर्णाली प्रदेश सरकारलाई विश्वासको मत दिएर नपुग्ने अवस्था थियो । यसका निम्ति प्रधानमन्त्री ओलीले झापाको संसदीय निर्वाचन क्षेत्रसहित राजधानी काठमाडौँको महानगरीय निर्वाचनमा एमालेसंग तालमेल मिलाएको राप्रपालाई तटस्थ बस्ने निर्णय पुर्याउनुभयो । जसले गर्दा शाहीको सरकार ढल्ने अवस्था देखा परिसकेको थियो ।

तर, यसैबीच अप्रत्यासित परिणाम आयो । खाइपाइ आएको माननीयको सुविधा छापामार शैलीले त्याग्न प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा तयार भएपछि शाहीका निम्ति अनुकूल परिस्थिति सृजना हुन पुगेको हो ।

ज्वाला यसअघि आर्थिक मामिला मन्त्री हुनुहुन्थ्यो ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा एमाले प्रवेश गरेका माओवादीका धर्मराज रेग्मी निलम्बित छन् । बाँकी ३९ मध्ये एमाले एक्लैको २० सांसद छन् । माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् ।

मुख्यमन्त्री शाहीलाई सरकार जोगाउन २० सांसदको साथ चाहिन्थ्यो । तर, एमालेबाहेक सबै एकातिर मिल्दा पनि १९ जना मात्र हुने स्थितिकाबीच माधव नेपाल पक्षका चार सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि सरकार जोगिएको हो ।

शुक्रबार, ०३ बैशाख, २०७८, साँझको ०६:२१ बजे

सम्बन्धित खवर