झापा,२०७६ बैशाख /  अर्जुनधारा नगरपालिकाले पोलिटेक्निकल इन्स्टिच्यूट निर्माण गर्ने भएको छ । नगरको चौथो नगरसभाले अर्जुनधारा–११ स्थित पूर्वपश्चिम राजमार्ग जोडिएको ठाउँमा इन्स्टिच्यूट निर्माण गर्ने निर्णय गरेको हो ।

इन्स्टिच्यूट निर्माणका लागि निर्णय गरेसँगै औपचारिक रुपमा प्रदेश र संघीय सरकारसँग आवश्यक गृहकार्य थालिसकिएको मेयर हरिकुमार रानाले बताए । ‘त्यसका लागि सम्बन्धित विषयगत कार्यालयबाट पनि सकारात्मक जवाफ आएकाले सीटीईभीटीसँग पहल भइसकेको छ,’ मेयर रानाले भने, ‘करिब १० बीघा क्षेत्रफलमा इन्स्टिच्यूट निर्माण हुनेछ ।’

तीन दिनसम्म सञ्चालन भएको नगरसभाले ८ वटा योजना संशोधन गरेको प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिए । भूर्तेलका अनुसार बहुवर्षीय योजना सञ्चालनका लागि १९ वटा योजना २०७५र०७६ को बजेटबाट भुक्तानी हुनेगरी निर्णय भएको छ । त्यस्ता बुहवर्षीय योजना नगरी नहुने भएकाले नगरसभाले निर्णय गर्दै स्पष्ट पारेको हो ।

जिल्ला समन्वय समितिले ६० प्रतिशत र नगरपालिकाले ४० प्रतिशत लागत बेहोर्ने गरी १, २, ५, ६, ९ र ११ नम्बरको वडा कार्यालय भवन बन्ने भएको छ । भवन निर्माणका लागि नगरले दाताबाट जग्गा पाइसकेको छ ।

Facebook Comments Box