झापा, २०७६ बैशाख ३
झापाका राजवंशी समुदायले सिरुवा पर्व मनाएका छन् । सो समुदायले दोस्रो दिन सोमबार हिलो छ्यापाछ्याप गरेर ‘काद सिरुवा’ मनाएका छन् ।

सिरुवा तराईका आदिबासी समुदायले मनाउने साँस्कृतिक पर्व हो । नयाँ वर्षको अवसरमा १ देखि ३ वैशाखसम्म सिरुवा मनाईन्छ । सिरुवाको अवसरमा सरकारले सोमबार तराईका ५ जिल्लामा सार्वजनिक विदासमेत दिएको छ ।

तीन दिनसम्म पानी, माटो र रङ खेलेर धुमधामसँग सिरुवा पर्व मनाउने गरिन्छ । सिरुवा राजवंशी, ताजपुरिया, गन्गाईं, थारू, माझी, मेचे, उराव, किसान, धिमाललगायत आदिवासी समुदायको सांस्कृतिक पर्व हो । नयाँ वर्ष सुरु भएकै दिनदेखि तीन दिनसम्म यी समुदायले सिरुवा पर्व मनाउने गर्छन् ।

झापासँगै पूर्वी तराईका जिल्लामा सिरुवा मनाइने गरिन्छ । सिरुवाको अवसरमा वैशाखमा विभिन्न ठाउँमा मेला समेत लाग्ने गर्दछ ।

Facebook Comments Box