एनसेल लाभ प्रकरणमा सर्वोच्च अदालतको फैसलाले मुलुकलाई २३ अर्ब ५७ करोडभन्दा बढी घाटा भएको भन्दै समाजवादी युवा संघले सडक आन्दोलन गर्ने भएको छ । समाजवादी पार्टीबाट निकट युवा संगठनले देश ब्यापीरुपमा आन्दोलन गर्नलागेको प्रदेश २ का कृषि राज्यमन्त्री तथा संगठनका अध्यक्ष योगेन्द्र राय यादवले जानकारी दिए ।

अध्यक्ष यादवको नेतृत्वमा असोज १ गते ७७ वटै जिल्लामा प्रदर्शनसहित सरकारलाई ज्ञापनपत्र बुझाउन लागिएको हो । ‘विदेशी कम्पनीलाई अर्बौं रकम छुट दिँदै जाने हो भने नेपाल आर्थिक रुपमा असफल देशको सूचीमा पर्ने धेरै समय कुनु नपर्ने, एनसेल कर असुलीमा लापरवाही गर्नेमाथि छानबिन गर्न र एनसेलबाट कर तिर्न लगाउनका लागि एक शक्तिशाली न्यायिक आयोग गठन गरी दोषीमाथि कारबाहीका लागि सरकारलाई सचेत गराउन खोजिएको’ संगठनका माहासचिव जितेन्द्र सिं महराले जनाएका छन ।

स्वीडेनको टेलियासोनेरा कम्पनीले १ सय ४४ अर्बमा मलेसियाको आजियाटा कम्पनीलाई ८० प्रतिशत सेयर बिक्रीवापत ६१ अर्ब रुपैयाँ लाभकर तिर्नुपर्ने निर्णय ठूला करदाता कार्यालयले गरिसकेकोमा निर्धारीत कर नतिरी टेलियासोनेरा नेपालबाट भागेको सो संगठनको आरोप छ । सो संगठनका अनुसार गत २०७५ माघ २३ गते सर्वोच्च अदालतको पूर्ण इजलासले लाभकर तिर्नुपर्ने दायित्व आजियाटा एनसेलकै भएको निर्णय गरेको थियो तर ताकिएको ६१ अर्बभन्दा कम लाभकर तिर्नुपर्ने भन्दै पुनः सर्वोच्च अदालतले गत भदौं ९ गते फैसला गर्दा अर्बौंको राजस्व गुम्न गएको छ । यसले राज्यलाइ ठुलो क्षति गरेको महासचिव महराले बताए ।

‘विगतको सरकारले यस प्रकरणमा कर दायित्व नेपालबाट भागिसकेको टेलियासोनेराको रहेको निर्णय सुनाउँदै उन्मुक्ति दिने प्रयास गर्नु, संसदको विकास र अर्थ समितिले पनि उन्मुक्तिलाई सघाउ पुग्ने निर्णय सुनाउन र सर्वोच्च अदालतको निर्णयविरुद्ध संसदमा महाअभियोगको आवाज नउठनु अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण भएको’ पनि सो संगठनले ठहर गरेको छ ।

Facebook Comments Box