काठमाडौं / कर्पोरेट प्रेम कथामा आधारित चलचित्र ‘जानी नजानी’ शुक्रबार १ चैतबाट मुलुकका ७४ ओटा सिनेमा हलमा रिलिज हुने भएको छ। वितकर मनोज राठीका अनुसार मोफसलका ५२ वटा र प्रस्तुतकर्ता रोशनी केसीका अनुसार काठमाडौंका २२ हलमा जानी नजानी रिलिज हुँदैछ। ‘मोफसलमा जानी नजानीले राम्रो हलहरू पाएको छ। तर, काठमाडौंका वितकरले राम्रो हल मिलाइ दिएनन्’ प्रस्तुतकर्ता रोशनीले भनिन्, ‘फिल्म राम्रो बनेको छ। अहिलेम्म हेरेका दर्शकले जानीनजानी मन पराउनु भएको छ र नेपाली फिल्ममा स्थापित प्रेमशैलीभन्दा हामीले केही फरक दिएका छौँ।’ यसअघि कलात्मक चलचित्र डाक्टर खाते निर्माण गरेकी रोशनीले यसपटक विशुद्ध प्रेमकथामा आधारित व्यावसायिक चलचित्र निर्माण गरेको बताइन्। जानी नजानीलाई वसन्त अधिकारीले निर्देशन गरेका हुन्। यो फिल्ममा आफूहरूले कर्पोरेटस्तरको प्रेमलाई उठान गरेको र फिल्म क्षेत्रमा काम गरेको करिब दुई दशक लामो अनुभव यसमा उतारेको पनि निर्देशक अधिकारीले बताए। चलचित्र जानी नजानीमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसीसहितका कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्रको गीत र ट्रेलर दर्शकले मन पराएका छन्। रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित यो फिल्मका निर्माता मोदनाथ खनाल र सागर काजी माली हुन्। सामिप्यराज तिमिल्सिनाले लेखेको यो फिल्मलाई संजय लामाले छायाँकन गरेका हुन्। अर्जुन जिसीको सम्पादन रहेको जानी नजानीमा अर्जुन पोखरेलको संगीत रहेको छ। अभिनेता मनिष श्रेष्ठले विगतका सिनेमा भन्दा आफूले जानी नजानीमा फरक र राम्रो काम गरेको बताएका छन्। भारतीय टेली चलचित्र चन्द्र नन्दिनीकी नायिका निरिषाको यो डेब्यु फिल्म हो। भारतमा काम गरिरहेकी निरिषाले जानी नजानीको भूमिका निकै सशक्त र टिम राम्रो भएकाले आफूले यसमा काम गरेको बताएकी छिन्।

Facebook Comments Box