काठमाडौं / एमाले छाडेर २०६९ मा संघीय समाजवादी पार्टी बनाएका राईले तीन वर्षमै फोरमसँग एकता गरे, त्यसको चार वर्षपछि फोरमलाई नयाँ शक्तिसँग एकतामा लगे

अशोक राईको सार्वजनिक परिचय छ– शान्त, शालिन र भद्र नेताको । तर, पार्टी्भित्र वैचारिक बहस हुँदा उनी कहिल्यै मौन बसेनन् । सधैँ गैरसंस्थापनलाई साथ दिए । अहिले पनि उनी बाहिर मुखर छैनन्, तर संघीय समाजवादी र नयाँ शक्ति पार्टीबीचको पछिल्लो एकतामा पृष्ठभूमिमा उनको भूमिका निर्णायक थियो ।

‘डा. बाबुराम भट्टराईसँग छिट्टै एकता हुन नसके पनि हामी निरन्तर लागिरहेका थियौँ,’ समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राईले भने, ‘मैले त उहाँ (बाबुराम) सँग विगत दुई वर्षदेखि एकताका लागि छलफल गर्दै आएको थिएँ ।’ नयाँ शक्ति पार्टीसँग एकताको गृहकार्यमा राईनिकट नेता निरन्तर खटेका थिए । पार्टी एकतासँगै समाजवादी पार्टीको पदाधिकारीमा राईनिकट नेताको ‘राम्रो उपस्थिति’ छ ।

राई एमाले–माले (२०५४) विभाजन हुँदा वामदेम गौतम नेतृत्वको मालेतिर लागे । २०६९ सालमा पहिचानको मुद्दा मुखर हुँदा उनले एमाले छाडेर आफ्नै नेतृत्वमा संघीय समाजवादी पार्टी बनाए । दोस्रो संविधानसभामा प्रत्यक्षतिर शून्य नतिजा हात परेपछि राईले उपेन्द्र यादवसँग एकता गरे । समाजवादी पार्टी नेपाल गठन राईको राजनीतिक जीवनको पछिल्लो घुम्ती हो ।

एमाले छाड्दा उनी त्यस पार्टीको उपाध्यक्ष थिए । तीन दशकभन्दा बढी समय बिताएका साथीहरूसँग पहिचानसहितको संघीयतालगायत विषय बाझिएपछि उनले नयाँ पार्टी बनाएका थिए । तर, अपेक्षाकृत नतिजा नआएपछि उनले घुम्ती मोडे र फोरमसँग २०७२ सालमा एकता गरे । दोस्रो संविधानसभामा राईको संघीय समाजवादी पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो । संघीय समाजवादीसँगको एकतापछि फोरमले २०७४ सालको प्रतिनिधिसभामा १६ र राष्ट्रियसभामा दुईजना सदस्य जितेको छ । प्रदेश सभामा ३० सिट पाएको छ ।

फोरमसँग एकता गरेपछि उनी वरिष्ठ नेता त थिए तर पार्टी्भित्र प्रभाव कमजोर हुँदै थियो । नयाँ शक्तिसँगको एकतापछि राईको राजनीतिक शक्ति बढ्ने विश्लेषण हुन थालेको छ । नवगठित समाजवादी पार्टीमा पदाधिकारीमा राई र यादवका आठ–आठजना सदस्य छन् । केन्द्रीय समितिमा बराबरी हैसियत छ । पार्टीमा वरिष्ठ नेताको भूमिकामा छन् । मधेस, जनजाति र खस–आर्य तीन क्लस्टरलाई प्राथमिकताका साथ उठाएको समाजवादी पार्टीको त्रिपक्षीय शक्ति सन्तुलनमा राईले एउटा धारको नेतृत्व गर्ने देखिन्छ ।

को हुन् राई ?
खोटाङको किसान परिवारमा जन्मेका राई पुष्पलाल समूहबाट राजनीति थालेका हुन् । तत्कालीन कोर्डि्निसेन केन्द्रका नेता अमृत बोहराबाट २०३३ सालमा उनले पार्टी सदस्यता लिएका थिए । तत्कालीन माले नेता मदन भण्डारीसँग उनले १० वर्ष एउटै कमिटीमा काम गरे । मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकार (२०५१) मा उनी यातायातमन्त्री थिए । २०५३ मा लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीकालमा संसदीय व्यवस्थामन्त्री र २०६१ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री भए ।

राजनीतिक उतारचढाव

२०३३ कोर्डिनेसन केन्द्रबाट पार्टी सदस्य
२०३६ मालेको पूर्वीक्षेत्रीय ब्युरो उपसचिव
२०४६ माले केन्द्रीय सदस्य
२०५४ एमाले विभाजनपछि वामदेव गौतमसँगै माले
२०५८ वामदेव गौतमसँगै एमालेसँग एकता
२०५९ एमाले स्थायी समिति सदस्य
२०६५ एमाले उपाध्यक्ष
२०६९ एमाले छाडी संघीय समाजवादी पार्टी गठन
२०७२ उपेन्द्र यादव नेतृत्वको फोरमसँग एकता गरी वरिष्ठ नेता
२०७६ वैशाख नवगठित समाजवादी पार्टीको वरिष्ठ नेता
टिप्पणी
एकता स् अशोकजीलाई हर्ष न विस्मात् !

अजम्बर काङमाङ राई, केन्द्रीय सदस्य, नेकपा

अशोक राई व्यक्तिगत रूपमा भद्र, इमानदार र अध्ययनशील नेता हुनुहुन्छ । तर, नेतृत्व लिन सक्नुहुन्न । उहाँ दोस्रा–तेस्रो तहमा बसेर काम गर्न सक्ने नेता हुनुहुन्छ । अहिले डा.बाबुराम भट्टराई संघीय परिषद्को अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष हुनुहुन्छ । उहाँ तेस्रो वरियतामा पुग्नुभएको छ । संगठनमा पकड जमाउन बाबुरामजीले पनि सकेको देखिएन । प्रकारान्तरले समाजवादी पार्टीमा उपेन्द्रजीकै प्रभाव बढ्ने देखिन्छ ।

पहिलो संविधानसभा विघटनपछि राईले पार्टी खोल्न गृहकार्य गर्नुभयो । समय घर्केपछि कदम चाल्नुभयो । समयमै निर्णय लिनु भएन । दोस्रो संविधानसभामा प्रत्यक्ष निर्वाचन लड्नुभएन । जोखिम मोल्न डराउनुभयो । पार्टी कमजोर भएपछि मात्रै फोरमसँग एकता गर्नुभयो । फोरमसँग एकतापछि स्थानीय तहमा तराईमा राम्रो नतिजा आयो, पहाडमा वडा पनि जितेन । संगठन गर्न सकेको भए त पहाडमा पनि संगठन बलियो बन्थ्यो तर सक्नुभएन ।

डा. भट्टराईसँगको एकता स्थानीय तह निर्वाचनअघिदेखि उठेको थियो । तर, विलम्ब गरी अहिले एकता भयो, जसको खास अर्थ छैन । स्थानीय निर्वाचनकै वेला एकता भएको भए प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा फरक पथ्र्यो । यो एकताले उहाँका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’जस्तै हो ।

Facebook Comments Box