३ जेष्ठ २०७६, झापा /  जिल्लाकै पुरानो बजार शनिश्चरे बजारको व्यवस्थापनमा लागिपरेको अर्जुनधारा नगरपालिकाले वधशालासहितको कृषि मण्डी निर्माण गर्ने निश्चित भएको छ ।शनिबारे हाट सारिएको स्थान नजिकै कृषि मण्डी बन्ने भएको हो । पूर्व वन राज्यमन्त्री वीरमणि ढकाल, प्रदेश सांसद वृख प्रधान, नगरपालिकाका मेयर हरिकुमार राना, उपमेयर कमला खतिवडा आचार्यले बिहीबार कृषि मण्डी भवन निर्माणका लागि संयुक्तरुपमा शिलान्यास गरे ।कृषि मण्डी बन्ने निश्चित भएपछि नगरपालिकाले शनिश्चरे बजारको दिगोरुपमा व्यवस्थापन गर्ने, नगर्ने भन्ने द्विविधा पनि हटेको छ । व्यवसायीलाई अप्ठ्यारोमा पारेर नगरले भ्रम सिर्जना गर्न खोजेको आरोप पनि सहँदै आएको नगरपालिकाले भवन निर्माण गरेर दीर्घकालीन सोच बनाएको सन्देश प्रवाह भएको छ ।शिलान्यास कार्यक्रममा बोल्दै मेयर रानाले कृषि मण्डीको निर्माणले अव्यवस्थित बजारको अन्त्य हुने दाबी गरे । कृषि मण्डी बनेपछि दक्षिणी इलाममा उत्पादन हुने कृषिजन्य वस्तुको थोक बिक्री गर्न सकिने उनको भनाइ छ । अर्जुनधारा क्षेत्रमै उत्पादन भएका कृषिजन्य वस्तुले पनि बजार पाउने उनको विश्वास छ ।दुई करोड ४० लाख रुपैयाँको लागतमा सात वटा ब्लक निर्माण गर्ने ठेक्का लागिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिए । उनका अनुसार शौचालयसहित कृषि र मासुजन्य वस्तुको बिक्रीका लागि व्यवस्थित भवन बनाइनेछ ।व्यवस्थित वधशाला र कृषि मण्डी निर्माणका लागि केएम समता जेभी काठमाडौँले ठेक्का पाएको छ । ठेकेदार कम्पनीले ढिलोमा डेढ वर्ष्भित्र भवन हस्तान्तरण गरिसक्ने सम्झौता भइसकेको नगरपालिकाले जनाएको छ ।जग्गा अभावमा बजार अव्यवस्थित भइरहेको बेला जग्गाको कारोबार गरिरहेको काफल इन्भेस्टमेन्टले १० कठ्ठा चार धुर जग्गा निःशूल्क उपलब्ध गराएपछि व्यवस्थित कृषि मण्डी बन्न मद्दत पुगेको हो । नगरपालिकालाई इन्भेस्टमेन्टका सञ्चालकद्वय रवि पोद्दार र विनोद पोखरेलले जग्गा उपलब्ध गराएका हुन् ।शिलान्यास कार्यक्रममा बोल्दै जग्गादाता रवि पोद्दारले राम्रो काम गर्ने अवसर नपाइरहेको बेला नगरपालिकाले अवसर जुटाइदिएकोप्रति धन्यवाद प्रकट गरे । उनी काठमाडौँ निवासी हुन् । नगरसँग भएको सहमतिमा सात कठ्ठामात्र उपलब्ध गराउने भनिए पनि दाताले १० कठ्ठाभन्दा बढी जग्गा दिएकोमा नगर प्रमुख रानाले पनि धन्यवाद दिए ।प्रमुख प्रशासकीय अधिकृत भूर्तेलका अनुसार १ करोड ३० लाख प्रदेश सरकारले भवन निर्माणका लागि रकम उपलब्ध गराउनेछ । बाँकी रकम नगरपालिकाले व्यहोर्ने उनले बताए ।वधशालामा राँगा, संगुर, कुखुरा, खसीका लागि छुट्टा छुट्टै भवन बन्नेछन् भने कृषिजन्य उत्पादनका लागि पनि अलग्गै भवन निर्माण हुनेछ ।यस्तै, करिब एक महिनादेखि व्यवस्थित बजारका लागि स्थानान्तरण गरिएको साप्ताहिक हाटका लागि पनि जग्गा खरिद गर्ने प्रक्रिया पनि अघि बढाएको बताइएको छ । जग्गा प्राप्ति ऐन २०३४ अनुसार नगरले प्रक्रिया अघि बढाएको हो ।

Facebook Comments Box