दमक/ मोरङको मिक्लाजुङ गाउँपालिकाको चौंथो गाउँसभा हरेक वडालाई कृषी बिशेस वडा घोषण गर्दै सोमबार सम्पन्न भएको छ ।
गएको असार १० गते चालु आर्थिक बर्ष २०७६÷०७७ का लागि कुल ३९ करोड २२ लाखको बजेट प्रस्तुत गर्दै शुरु भएको गाउँसभाको समापन सोमबार मोरङ क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य घनश्याम खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

 
गाउँ सभाले मिक्लाजुङलाई चिनाउने विभिन्न योजना अघि बढाएको छ । कृषिलाई मुख्य प्राथमिकता दिइएको आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा ‘९ वडा ९ पकेट क्षेत्र’ कार्यक्रम घोषणा गरेर अघि बढाइने उल्लेख छ ।
गाउँ सभा सम्पन्न भएपछि सोमबार आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाका प्रवक्ता नवीन कार्कीले वडा नं. १ लाई पशुपालन, वडा नं. २ लाई बाख्रापालन, वडा नं. ३ लाई बंगुरपालन, वडा नं. ४ लाई लोकल कुखुरापालनको पकेट क्षेत्र घोषणा गरिएको बताएका छन् । यस्तै, वडा नं. ५ लाई केरा र सुपारी, वडा नं. ६ लाई माछा, वडा नं. ७ लाई ब्रोइलर कुखुरा, वडा नं. ८ लाई तरकारीको पकेट क्षेत्र घोषणा गरी मधुमल्ला बजार क्षेत्रमा पर्ने वडा नं. ९ लाई बजार प्रवद्र्धनको वडाका रुपमा अघि बढाइएको कार्कीले बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यको अध्यक्षतामा भएको गाउँ सभाले कुल ३९ करोड २२ लाख बराबरको बजेट पारित गरेको हो । बजेटमा सम्पूर्ण सामुदायिक विद्यालयहरुको सुरक्षित भौतिक पूर्वाधार व्यवस्थापन र सिकाइ वातावरण सुधारका लागि २ करोड ५० लाख विनियोजन गरेको छ । यस्तै, विपन्न लक्षित स्वास्थ्य सेवा सञ्चालन गर्ने, दुर्गमका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य चौकी टाँडी ‘ए’ मा वर्थिङ सेन्टर र स्वास्थ्य चौकी टाँडी ‘वी’ मा ल्याव सञ्चालन गर्नका लागि बजेट व्यवस्था गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पोख्रेलले बताएका छन् ।
उनका अनुसार मिक्लाजुङका दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ ।

युवा लक्षित कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारबाट फर्केका र सीप भएका युवाहरुलाई स्थानीय स्तरमै उद्यम गर्न गाउँपालिकाले प्रोत्साहन गर्ने भएको छ । यसका लागि ३० लाख बजेट छुट्याइएको छ । यस्तै, सबै वडाहरुमा ज्येष्ठ नागरिक चौतारा निर्माण गरिने जनाइएको छ ।
गाउँपालिकाका विपन्न नागरिकको घरको फुसको छाना हटाउनका लागि यस आर्थिक वर्षमा ७ लाख बजेट छुट्याइएको प्रवक्ता कार्कीले बताएका छन् । यस्तै, विपन्न पहिचान र परिचय पत्र वितरणका लागि १० लाख, विपन्न आवास कार्यक्रमका लागि ३० लाख बजेट विनियोजन गरिएको छ । विपन्न आवास कार्यक्रम अन्तर्गत १० घर निर्माण गरिने प्रवक्ता कार्कीले बताएका छन् ।
यस्तै, मिक्लाजुङ गाउँपालिकाको गौरवको आयोजनाका रुपमा मधुमल्ला बजारदेखि धोबेनी कालोपत्रे गर्न ३ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ । गाउँपालिकाले जनसंख्या र भूगोलका आधारमा प्रत्येक वडालाई ५२ लाखदेखि ६८ लाखसम्म विनियोजन गरेको छ । यस्तै, उत्कृष्ट कार्य सम्पादन गर्ने एउटा वडालाई थप ५ लाख रुपैयाँ प्रदान गर्ने, उत्कृष्ट करदाता, उपभोक्ता समिति, सहकारी, कृषक, उद्योगी, विद्यालय व्यवस्थापन समिति, कर्मचारी, सञ्चारकर्मीलाई पुरस्कृत तथा सम्मान गरिने भएको छ ।
गाउँपालिकाले सामाजिक समावेशिकरणलाई जोड दिँदै महिला तथा लक्षित वर्गका कार्यक्रम सम्बन्धित वडाका महिला सदस्य र दलित महिला सदस्यको अगुवाईमा कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले वडा, टोल, वस्तीबाट योजना संकलन गरेर विषयगत समिति, सरोकारवालासँग छलफल गरेर बजेट बनाइएकोले मिक्लाजुङ गाउँपालिकाको यस वर्षको बजेट उत्कृष्ट रहेको दावी गरेका छन् । विगतको अनुभव, सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षणमा आएका सुझावका आधारमा बजेट तयार पारिएको उनले बताएका छन् ।
नगर सभाको समापन सत्रमा मोरङ क्षेत्र नं. १ का सांसद घनश्याम खतिवडाले मिक्लाजुङको विकासका लागि केन्द्र सरकारसँग बजेटका लागि पहल गर्ने बताएका छन् । उनले गाउँपालिका भित्रमा विभिन्न गौरवका आयोजना सञ्चालनका लागि आफू लागि परेको जनाएका छन् ।

Facebook Comments Box