दमक राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरको ट्रयाक खोल्ने काम असोजसम्ममा सक्ने गरी तीब्र गतिमा भइरहेको छ। सात चरणका प्याकेजमा बिभिन्न निर्माण कम्पनीमार्फत उक्त अवधिमा ट्रयाक खोलीसक्ने गरी निर्माणको काम भइरहेको हो। पुष्पलाल मध्य पहाडी राजमार्ग योजना कार्यालय फिदिमले रेखदेख गर्दै आएको कोरिडोरको ट्रयाक खोलाइको प्रगति करिव ६० प्रतिशत छ। ट्रयाक खोली सक्दा कोरिडोर निर्माणको प्रगति ८० प्रतिशत मानिने छ। त्यसपछि ग्राभेल गरेपछि शतप्रतिशत अर्थात निर्माण कार्य पूरा भएको मानिने छ। यसले गर्दा हालसम्म निर्माणको पहिलो चरण भनिएको ट्रयाक खोलाइको काम पहिलो प्याकेज गणेशचोक(मुक्तुरा खोला खण्डमा सकिँनै लागेको छ। ट्रयाक खोल्न करिब ४०० मिटर मात्र बाँकी छ। यो प्याकेजको निर्माण कार्य रसुवा–तुँदी जेभीले गर्दै आएको छ। मेची राजमार्गको गणेशचोक सुरूवाती बिन्दु रहेको कोरिडोरको पहिलो प्याकेजको दूरी साढे २६ किलोमिटर छ। जेभीका प्रोजेक्ट म्यानेजर अन्सुल आचार्यले सरोकारवाला सबै पक्षबाट सहयोग प्राप्त भइरहेकाले त्यहीअनुसार निर्माण कार्यले गति लिएको बताए। श्रेष्ठ एपेक्स एण्ड थेगिम जेभीले निर्माणको जिम्मा पाएको दोस्रो प्याकेज मुक्तुरा(सिवा दोभानसम्मको १६ किलोमिटर दूरिको ट्रयाक खोल्ने कार्य पनि पहिलो प्याकेजमा भन्दा अलिक बढी छ। पुष्पलाल (मध्य पहाडी) राजमार्ग योजना कार्यालयका इञ्जिनियर प्रमोद खतिवडाका अनुसार सो प्याकेजको मुक्तुरा क्षेत्रमा करिव एक किलोमिटर र सिवा खोला क्षेत्रमा भने माझिटारदेखि ठीकमाथि मध्यपहाडी लोकमार्ग क्षेत्रमा जोड्न करिब ३ किलोमिटर ट्रयाक खोल्न बाँकी छ। लामा(पीएस(बिरूवा जेभीले निर्माण गर्दै आएको १९ किलोमिटर कोरिडोरको तेस्रो प्याकेज सिवा दोभानदेखि लोरिपा खोलासम्मको खण्डमा भने सिवा दोभान ठीकमाथि रानीगाउँ क्षेत्रमा करिब डेढ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य रोकिएको छ। वातवरण प्रभाव मूल्यांकनबिनै कटान आदेश पनि नलिई सामुदायिक वन क्षेत्रमा सडक निर्माण कार्य गरेको भन्दै डिभिजन वन कार्यालय पाँचथरले निर्माण कार्य झण्डै तीन महिनादेखि रोकेको हो।

कोरिडोरअन्तर्गत २१ किलोमिटर दूरी रहेको लोरिपा दोभानदेखि नावाखोला खण्डमा पनि करिब २ किलोमिटर मात्रै ट्रयाक खोल्न बाँकी रहेको निर्माण कम्पनी रौताहा सन्तोषी जेभीका ठेकेदार अमर दाहालले बताए। सोही कम्पनीले निर्माणको जिम्मा पाएको ३० किलोमिटर दूरी रहेको नावाखोला(लेउतीपुल खण्डमा भने ट्रयाक खुलेको छ। उत्तर(दक्षिण सडक आयोजनाले यसअघि निर्माण गरेको करिव ५० प्रतिशत ट्रयाकलाई प्रयोग गरेको जेभीले बाँकी सडकको ट्रयाक निर्माण गरेको हो। लेवती पुलदेखि सानो सफाई धनकुटासम्मको साढे १७ किलोमिटर कोरिडोरको करिव ४ किलोमिटर बाँकी रहेको छ। यो प्याकेजको निर्माण जिम्मा कालिका(थोदुङ(महालक्ष्मी जेभीले पाएको हो। शर्मा एण्ड कम्पनीले निर्माण जिम्मा पाएको सानो सफाइदेखि सुनसरीको बराह क्षेत्र कोशी पुलसम्मको साढे १७ किलोमिटरै सडकको ट्रयाक खोलाई पनि भएको छ।पुष्पलाल (मध्य पहाडी) राजमार्ग योजना कार्यालय पाँचथरका योजना प्रमुख अभिमन दास मुल्मीले कोरिडोरको ट्रयाक खोल्ने कार्य असोजसम्मा सकेर त्यसपछि ग्राभेलको काम थालिने बताए। उनले अधिकांश निर्माण कम्पनीको योजना सम्पन्न अवधि आगामी वर्षको भदौमा सकिने र बाँकीको पनि आगामी वर्षकै पुस १२ सम्ममा सकिने बताए। कोरिडोरको दूरी भने कूल १४८ किलोमिटर रहेको छ। जसअन्तर्गत पाँचथरको गणेशचोकदेखि धनकुटाको मुलघाटसम्म ११२ किलोमिटर र त्यहाँदेखि बराहक्षेत्र कोशी पुलसम्म ३६ किलोमिटर रहेको छ। कोरिडोरको बजेट भने ६ अर्ब २३ करोड ४९ लाख छ। कोरिडोरको निर्माणको काम २०७४ सालदेखि भएको हो। निर्माणाधीन सडकखण्डको संसदको लेखा समिति सदस्यसमेत रहेका सांसद वसन्तकुमार नेम्वाङले अनुगमन गरेका छन्। अनुगमनको क्रममा उनले मध्य पहाडी राजमार्गको फिदिमस्थित योजना कार्यालयका प्रमुख मुल्मीसँग तमोर कोरिडोरको निर्माण कार्यबारे जानकारी लिएका थिए। नेम्वाङले ठेक्का सम्झौता मितिमै सडकको ट्रयाक खोल्ने काम सक्न निर्माण व्यवसायीलाई निर्देशन दिए। अनुगमनमा जिल्ला समन्वय समिति सदस्य नरबहादुर गुरूङ पनि थिए।  थाहा खबर

Facebook Comments Box