दमक नपाले नगरका मिडिया ब्यवस्थित गर्न नयाँ योजना ल्याउने

दमक,२ पुष / दमक नगरपालिकाले सञ्चारमाध्यमहरुलाई वितरण गर्दै आएको लोककल्याणकारी सूचनालाई व्यवस्थित बनाउने जनाएको छ । लोककल्याणकारी सूचनाहरु अघिल्ला बर्षहरुमा अपारदर्शी रुपमा वितरण हुदै आएको देखिएको भन्दै नगर भित्र रहेका र अन्य सञ्चारमाध्यमहरुलाई पनि समानुपातिक र कामको आधारमा सूचना दिई रकम उपलब्ध गराउने नगर प्रमुख राम थापाले बताए ।
सक्रिय पत्रकार सञ्जालका पदाधिकारी तथा अगुवा पत्रकारहरुसंग आज भएको छलफलमा नगर प्रमुख थापाले सञ्चारमाध्यम समाज रुपान्तरणका सम्बाहक भएको भन्दै नगरको बिकासका लागी यहाँ रहेका सञ्चारमाध्यमहरुको भूमिका महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे । यसअघि जसरी वितरण हुँदै आएको भएपनि अब भने व्यवस्थित र पारदर्शी रुपमा नगरका कामहरु हुने उनले बताए । त्यसको तयारी भैरहेको भन्दै उनले दुई दिन भित्रैमा नगरपालिकाले सूचीकरणका लागी सञ्चारमाध्यमहरुलाई आह्वान गर्ने पनि बताए ।
छलफलमा नगर उपप्रमुख रेगिना भट्टराईले आफुहरुले बाटो बिराए खबरदारी गर्न र राम्रा कामहरु प्रचारमा पनि कन्जुस्याई नगर्न सञ्चारकर्मीहरुलाई आग्रह गरिन् । नगरपालिकाबाट प्रबाह गरिने सूचना सञ्चारमाध्यमहरुलाई उपलब्ध गराउने बिधि बनाउन केहि समय लागेको भन्दै उनले केहि ढिलाई भए पनि रामै् कामका लागी भएको स्पष्ट पारिन् ।
छलफलमा पत्रकार महासंघ प्रदेश १ कोषाध्यक्ष बिमल लामिछाने, प्रदेश कार्यसमिति सदस्य बिष्णु सुब्बा, सक्रिय पत्रकार सञ्जालका अध्यक्ष गिरिराज भट्टराई, कोषाध्यक्ष बिष्णु पौडेल लगायतको सहभागिता रहेको थियो ।

