निजामती ऐन चाँडै ल्याउँछु : मन्त्री मोदी

काठमाडौं / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती ऐन छिट्टै ल्याउने बताएका छन् ।


मंगलबार सपथग्रहणपछि मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका मन्त्री मोदीले सरोकारवालाहरुसँग छलफल गरेर निजामति ऐन तत्काल ल्याउने बताएका हुन् ।
‘निजामती सेवा ऐन नल्याउँदा धेरै समस्या भएको छ’, मन्त्री मोदीले भने, ‘म मेरै कार्यकालमा ल्याउने प्रतिबद्धता जनाउँछु ।’ सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउनका लागि सकारात्मक सोच आवश्यक रहेको बताउँदै उनले कर्मचारीको अनुभवलाई सेवा प्रवाह सुधारमा लगाउने बताए । जति दिन काम गरिन्छ एउटै घरपरिवारको सदस्य जस्तै भएर काम गर्ने भन्दै उनले कर्मचारीसँग मिलेर अगाडि बढ्ने बताएका थिए ।
सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै सुशासनको अनुभूति गराउनेमा केन्द्रित हुनुपर्ने बताउँदै मन्त्री मोदीले सङ्घीयतासँग जोडिएका समस्याहरू समाधानमा पनि आफू केन्द्रित हुने बताए । साथै सेवा प्रवाह सुधार र नीतिगत सुधारमा आफ्नो जोड रहने उनको भनाई थियो ।
मन्त्री मोदीले प्रदेश र स्थानीय तहमा भएका कर्मचारीहरुको कार्यसम्पादनबारे मौजुदा समितिको मूल्यांकनलाई मान्ने निर्णय गरेका छन् । प्रदेश र स्थानीय तहमा अन्य सेवाबाट गएर कर्मचारी समायोजन भएर जानेहरुको गएकाहरुको कार्यसम्पादन मूल्यांकनमा द्विविधा भएकोमा मौजुदा समितिले नै मूल्यांकन गर्ने निर्णयमा मन्त्री मोदीले पहिलो हस्ताक्षर गरेको मन्त्रालयले जनाएको छ ।