काठमाडौं, ६ फागुन / कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।
जसपाको केन्द्रीय कार्यालयमा पौडेल र यादवबीच शुक्रबार करिब आधा घण्टा छलफल भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न यादवलाई अनुरोध गरेका छन्।

सत्तासीन माओवादी केन्द्रबाटै कांग्रेसलाई राष्ट्रपति दिनुपर्ने तर्क आउन थालेपछि कांग्रेसभित्र राष्ट्रपतिका आकांक्षी बढ्न थालेका छन्। पार्टीमा औपचारिक छलफल नभएपनि राष्ट्रपति उम्मेदवारका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायतका आकांक्षीले भेटघाटलाई तीब्रता दिएका छन्।

एमाले स्रोतका अनुसार पुस १० गते एमाले र माओवादीबीच ‘भद्र सहमति’ भएको थियो। जसअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने र एमालेले राष्ट्रपति लिने। उक्त सहमतिबाट माओवादी पछि हट्दै गएको एमालेको बुझाइ छ। माओवादी केन्द्रका नेताहरू पनि पुरानो सहमतिभन्दा राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउनुपर्ने तर्क गर्न थालेका छन्।

यसैबीच कांग्रेसले राष्ट्रपति पाए पाँचै वर्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने ‘लोभ’देखाएपछि प्रचण्डले सार्वजनिक रुपमा नै ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति गरौं’ भन्ने अडान राख्न थालेका छन्। कांग्रेसका शीर्ष नेताले प्रचण्डसँग विभिन्न चरणमा छलफल गरेका छन्।

पौडेलसँगको भेटमा यादवले राष्ट्रपतिमा कांग्रेसलाई सघाउँदा उपराष्ट्रपति कुन पार्टीबाट बनाउने भन्नेबारे चासो व्यक्त गरेका थिए। राष्ट्रपतिको निर्वाचन, विधान अधिवेशनको तयारी लगायतका एजेण्डाहरुमा छलफल गर्न जसपाले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको प्रचार विभाग प्रमुख बस्नेतले जानकारी दिए।

Facebook Comments Box