पूर्वीय दर्शनले सिकाएको साम, दान, दण्ड र भेद अहिले पनि ताजै

२०७७ चैत ५ गते /   कुनैपनि मान्छेलाई आफ्नो वसमा राख्नको लागि ४ किसिमको नीति लिन सकिन्छ भन्ने कुरा पूर्वीय दर्शनले सिकाउँछ । सबैभन्दा पहिलो नीति हुन्छ ‘साम’ । अर्थात् कुनै पनि मान्छेलाई आफ्नो वशमा राख्नको लागि समझदारी वा शान्तिको साथ उसलाई सम्झाउनु नै साम नीति हो । त्यस्तै, दान भनेको आर्थिक वा अन्य प्रलोभनमा पार्नुलाई दान नीति अन्तर्गत् राख्ने गरिन्छ । त्यस्तै, दण्ड अर्थात् पराक्रमले कसैलाई आफ्नो वशमा राख्नु दण्ड नीति हो भने कसैको एकतालाई टुक्र्याएर आफू शक्तिशाली बन्ने नीति भेद नीति अन्तर्गत् पर्छ ।

महाभारतको आदि पर्वको विदुरागमन राज्यालम्भ पर्व अन्तर्गत् अध्याय २०१ को अनुसार पाण्डवहरुलाई पराक्रमको सहायताले दबाउनको लागि सम्मति दिएको कुरा उल्लेख छ । त्यसमा साम दान र भेदबाट पाण्डवलाई दबाउन सकिँदैन भन्ने भएपछि पराक्रम नै एउटै विकल्प हो भन्ने अर्थमा उनले सुझाव दिएका छन् ।

यो अध्यायमा कर्णले भनेका छन् ‘दुर्याेधन ! मेरो विचारमा तिमीलाई यो सल्लाह उपयुक्त त नहोला । तर कुरुवर्धन, पाण्डवहरूलाई कुनै पनि उपायबाट वशमा राख्न सकिँदैन । हे वीर ! पहिले पनि अनेक गुप्त उपायद्वारा पाण्डवहरुलाई दबाउने चेष्टा गरेकै हो । तर तपाईंको त्यसमा वश चलेन ।

भूपाल ! जब उनीहरू बच्चा थिए । त्यतिबेला उनी यही तपाईंसँगै रहन्थे । त्यतिबेला उनीहरुको पक्षमा कोही पनि थिएनन् । त्यतिबेला त तपाईंले उनीहरुमा बाधा पु¥याउन सक्नुभएन भने अहिले त उनीहरु विदेशमा छन्, उनीहरुको पक्षमा धेरै मान्छेहरु छन् र सबैसँग उनीहरुको आकर्षण बढ्दो मात्रामा छ । त्यसैले ती कुन्ती कुमार तपाईंले चालेको उपायद्वारा वशमा आउनेवाला छैनन्।

पुरुषार्थबाट कहिलै पनि च्यूत नहुनेवाला वीर मेरो त यही विचार हो । अब उनीहरुलाई संकटमा पार्न सकिँदैन । भाग्यले उनीहरुलाई शक्तिशाली बनाइदिएको छ । साथै, उनीहरुमा आफ्नो पुस्ता दरपुस्ताको राज्य प्राप्त गर्ने अभिलाषा जागेको छ । उनीहरुमा आपसमा पनि फुट ल्याउन मुस्किल छ । उनीहरु एकै पत्नीमा अनुरक्त छन् र त परस्परमा विरोध भएको छैन भने हामीले चाहेर फुट ल्याउन सकिँदैन ।

अर्काेतर्फ द्रौपदीलाई समेत उनीहरुप्रति वितृष्णा जगाएर अलग गर्न असम्भव छ । किनकि जब पाण्डवहरु भिक्षाभोगी भएका कारण दीन–हीन थिए । सो अवस्थामा द्रौपदीले उनीहरुको वरण गरेकी थिइन् । अहिले त उनीहरु शक्तिशाली एवं सम्पत्तिशाली भएर सुन्दर भेषमा छन् । यस्तो अवस्थामा द्रौपदी पनि किन उनीहरुसँग विरक्त होलिन् र ?

पाञ्चालराज द्रुपद श्रेष्ठ व्रतको पालन गर्नेवाला व्यक्ति हुन् । उनी धनको लोभमा फस्नेवाला छैनन् । यस समयमा हाम्रो लागि एकै उपाय काम लाग्ने हुन सक्छ कि जहिलेसम्म पाञ्चाल राजको बल हाम्रोभन्दा कम छ त्यतिबेलासम्म हामीले निरन्तर उनीहरुमाथि आक्रमण गरिरहनुपर्छ । यसबाहेक अरु कुनै पनि विचार गर्नुआवश्यक छैन ।

जतिबेलासम्म पाण्डवहरुको साथमा धेरै वाहन, मित्र र कुटुम्ब हुँदैनन् । त्यतिबेलासम्म उसलाई आक्रमण गरिराख । त्यतिबेलासम्म वृष्णिकुल नन्दन श्रीकृष्ण यदुवंशीहरुको सेनाको साथमा पाण्डवहरुलाई राज्य दिलाउने उद्देश्यले पाञ्चाल राजको घरसम्म आउँदैनन्, जतिबेलासम्म श्रीकृष्णको थप धन–रत्न र सारा राज्य केही पनि आदेय बन्दैन, जतिबेलासम्म महात्मा भरतले पराक्रमले नै यो पृथ्वीमा विजय हासिल गरे । यसबाहेक न त साम, नत दान, न त भेदको नीतिले पाण्डवलाई वसमा राख्न सकिन्छ । अतः एउटा अन्तिम विकल्प भनेको नै पराक्रमबाट नै उनीहरुलाई पराजित गर्नु उपयुक्त हुन्छ । यसबाहेक अरू कुनै विकल्प होला जस्तो लाग्दैन ।

बिहिबार, ०५ चैत, २०७७, बिहानको ०८:३८ बजे

सम्बन्धित खवर