इनरुवा / संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अमनलाल मोदीले सेवाग्राहीलाई अनावश्यक दुःख नदिन कर्मचारीलाई निर्देशन दिएका छन् ।

सुनसरीको इनरुवामा आइतबारदेखि सुरु भएको प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सवलाई सम्बोधन गर्दै मन्त्री मोदीले सरकारको प्राथमिकता सुशासन कायम गर्ने भएकाले त्यसमा कर्मचारी प्रतिबद्ध हुनुपर्ने बताए ।

प्रधानमन्त्रीले सुशासनको पक्षमा काम गर्न निर्देशन दिएको र त्यो जिम्मेवारी संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयकै रहेकोले त्यसअनुसार काम गर्न मोदीले आग्रह गरे । कर्मचारीहरुले अब सेवाग्राहीलाई ‘हुन्छ वा हुँदैन’ मा जबाफ दिनुपर्ने बताउँदै अनावश्यक रुपमा झुलाउने काम गरेको गुनासो आए मन्त्रालय एक्सनमा उत्रने चेतावनी दिए ।

मन्त्री मोदीले सेवाग्राहीको काम नहुने हो भने कारणसहित चित्तबुझ्दो जवाफ दिने परम्पराको थालनी गर्नसमेत निर्देशन दिएका छन् । जनताको काम कसरी दू्रतगतिमा गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिन आग्रह गर्दै उनले त्यसमा कुनै समस्या भए मन्त्रालयले समाधान गर्ने बताए ।

अर्को प्रसंगमा मन्त्री मोदीले १ नम्बर प्रदेशलाई चलचित्र क्षेत्रको हबको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै त्यसमा सरकारी सहयोग रहने प्रतिबद्धता जनार्ए । ‘म चाहन्छु, प्रदेश १ चलचित्र क्षेत्रको हबको रुपमा स्थापित होस्, पहिचान झल्किने चलचित्रको छायांकन होस्’ उनले भने, ‘त्यसका लागि सरकारको तर्फबाट गर्नुपर्नेमा सहयोगका लागि हामी तयार छौँ ।’

Facebook Comments Box