छ महिनामा २३ करोडको केरा आयात

नेपालमा यस वर्षको छ महिनामा २३ करोड १५ लाख रुपैयाँबराबरको केरा आयात भएको छ । भन्सार विभागका अनुसार सरकारले साउनदेखि पुस मसान्तसम्मको अवधिमा ६६ हजार मेट्रिक टन केरा आयात गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रालयको अर्धवार्षिक प्रगति समीक्षा सार्वजनिक गर्दै नेपालमा ३ लाख २४ हजार मेट्रिक टन केरा स्वदेशी किसानहरूले उत्पादन गरिरहेको तथ्यांक सार्वजनिक गरेको छ । तथ्याङ्कअनुसार नेपाललाई त्यस अवधिमा ३ लाख ९० हजार मेट्रिक टन केराको आवश्यकता रहेको थियो ।


जसअनुसार कूल आवश्यकताको ८३ दशमलव ०३ प्रतिशत मात्र आन्तरिक उत्पादनले धान्दछ भने कूल आवश्यकतामा आयातको हिस्सा १६ दशमलव ९७ प्रतिशत रहेको छ ।
उक्त सार्वजनिक तथ्यांकअनुसार नेपालमा केरा आयातको दर घट्दो देखिन्छ । गत आर्थिक वर्ष २०७८/०७९ को छ महिनामा ९० करोड ५३ लाख रुपैयाँको केरा आयात भएकामा चालू आवको छ महिनामा २३ करोड १५ लाख रुपैयाँको आयात भएको छ । जुन अघिल्लो वर्षको यस अवधिमा भएको आयातभन्दा ७४ दशमलव ४ प्रतिशतले कम हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुसार नेपालका चितवन, रौतहट, नवलपरासी पश्चिम र बर्दियामा जोन बनाएर केरा खेती गरिँदै आएको छ । परियोजनाअन्तर्गत ३ हजार १ सय ७८ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ ।
यस्तै, पछिल्लो छ महिनाको अवधिमा ३ लाख ४० हजार मेट्रिक टनबराबर ५ अर्ब ३९ करोड मूल्यको आलु आयात भएको छ । १८ अर्ब ६३ करोडको धान/चामल, ६ अर्ब ६० करोडको मकै, ६६ करोडको गहुँ, १ अर्ब ५ करोडको सुन्तलाजात, २ अर्ब ६९ करोडको प्याज र ३ अर्ब ४९ करोडको स्याउ आयात भएको छ ।