सत्ता समीकरणका लागि हतार नगर्ने पूर्व राजपाको निर्णय

काठमाडौँ / जनता समाजवादी पार्टी नेपालमा रहेका पूर्व राजपा नेपालका नेताहरुले सत्ता समीकरणका लागि हतार नगर्ने सहमति गरेका छन् । जसपा नेपालको कार्यकारिणी समितिको बैठक स्थगित भएपछि पूर्व राजपा नेपालको बिहिबार छुट्टै बैठक बसेको थियो । बैठकमा कार्यकारिणी समितिको बैठक स्थगित हुनुको कारणबारे ब्रिफिङ हुनुका साथै पार्टीको समायोजनलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भएको बताइएको छ ।

ब्रिफिङमा आफ्नो पार्टीले उठाउँदै आएको माग जुन दलले सम्बोधन गर्छ वा पूरा गर्छ त्यसलाई मात्र समर्थन गर्नेमा जसपा नेपाल दृढ रहने निश्कर्ष निकालिएको बताइएको छ । अहिले एमाले र माओवादी केन्द्र आफैमा अल्झेका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । एमालेमा माधव नेपाल गुटको समस्या देखिएको छ ।

यस्तो अवस्थामा जसपा नेपालले हतारमा कुनै पनि निर्णय लिँदा प्रत्युत्पादक हुने बैठकमा ब्रिफिङ गरिएको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कस्तो परिस्थिति निर्माण हुन्छ, त्यसको आधारमा निर्णय लिने तयारी जसपाले गरेको छ । बैठकमा पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो लगायतले कार्यकारिणी समितिको बैठकमा भाग लिन काठमाडौं आएका नेताहरुलाई राखेर वर्तमान राजनीतिक अवस्था र जसपा नेपालको भूमिका बारेमा ब्रिफिङ गरिएको थियो ।

आजै सो पार्टीले कार्यकारिणी समितिको बैठक राखेको थियो । सो बैठकअघि पदाधिकारीको बैठक बसेको थियो । बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठकमा प्रस्तुत गर्नका लागि प्रस्ताव तयार पारेका थिए । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनकारी भएको र उनले संविधान विपरित काम गरेका कारण सरकारबाट बाहिर ल्याउन माओवादी केन्द्रलाई साथ दिनुपर्ने निष्कर्षका साथ अध्यक्ष यादवले राजनीतिक प्रस्ताव तयार पारेका छन् ।

यद्यपि, त्यसलाई पूर्व राजपा नेपालका नेताहरुले भने अस्वीकार गरेका थिए । उनीहरुले प्रधानमन्त्री ओली माग पूरा गर्न तयार भएका र उनलाई सहयोग गर्दा राम्रो हुने भन्दै प्रचण्डले उधारो सम्झौता गर्ने भएकाले साथ दिन सकिने अवस्था नरहेको कुरा राखेका थिए ।

त्यसलगत्तै सो पार्टीले माओवादी, एमाले र काँग्रेसको निर्णयपछि मात्र निर्णय गर्ने भन्दै कार्यकारिणी समितिको बैठक स्थगित गरेको थियो । बैठक स्थगित भएपछि पूर्व राजपा नेपालले आफ्नो रणनीति तयार गर्न इन्द्रेणी फुड ल्याण्डमा बैठक डाकेको थियो ।

कार्यदल गठन

जसपा नेपालमा भइरहेको समायोजनलाई व्यवस्थित गर्नका लागि पूर्व राजपाले ६ सदस्यीय कार्यदल गठन गरेको कार्यकारिणी सदस्य केशव झाले बताए । जसपा नेपालका कार्यकारिणी सदस्य एवं प्रदेश २ का भौतिक पूर्वाधार एवं विकास मन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा गठन भएको समितिमा कार्यकारिणी सदस्यहरु मनिष सुमन, केशव झा, सञ्जय यादव, सुनिल रोहित, रमेश यादव रहेका छन् ।

यो समितिले पूर्व राजपा नेपालका विभिन्न संगठनहरुलाई व्यवस्थित गर्दै समायोजनका लागि तयार गर्नेछ । ६ वटा दल मिलेर राजपा नेपाल बनेपनि थुप्रै संगठनहरु समायोजन भएका छैनन् । आज बनेको कार्यदलले त्यसलाई व्यवस्थित गर्ने र समाजवादी पार्टीसँग समायोजन गर्ने तयारी पूर्व राजपाले गरेको छ ।

शुक्रबार, ०६ चैत, २०७७, बिहानको ०८:२६ बजे

सम्बन्धित खवर