मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

बैशाख ६, २०७६ भद्रपुर, झापा / मोटरसाइकल दुर्घटनामा परी बिहीबार झापामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचथर जिल्ला आङसराङ बस्ने अन्दाजी २५ वर्षीय दिवेश आङदम्बे रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार मेची राजमार्गअन्तर्गत झापा बुद्धशान्ति गाउँपालिका ३ मा उत्तरबाट दक्षिणतर्फ जादै गरेको ना ६० प ६६६३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकल दुर्घटनामा परी चालक इलाम देउमाई नगरपालिका २ बस्ने ३१ वर्षीय धनराज लिम्बू र पछाडि आङदम्बे गम्भीर घाइते भएका थिए। दुवै जनाको टाउको गम्भीर चोट लागेको थियो। घाइते मध्ये आङदम्बेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो। चालक लिम्बूको बिएण्डसी हस्पिटलमा बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

