झापा  / भारतीय चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’मा तेस्रो भएर फर्किएका बाल गायक प्रितम आचार्यलाई नेपालमा  सम्मान गरिएको छ । इटहरीका आचार्यलाई नेपाल संगीत कलाकर्मी संघ झापा र बिर्तामोडस्थित सरगम संगीतालयले नगदसहित सम्मान गरेको हो ।

बाबु काशीराम आचार्यसहित पुगेका प्रितमलाई स्वागत गर्न बिर्तामोड आसपासका बालबालिका र कलाकर्मी भेला भएका थिए । उक्त अवसरमा प्रितमले हिन्दी गीत ‘सन्देश आते है’ र ‘तडप तडक के इस दिल’ तथा भक्तराज आचार्यको नेपाली गीत ‘हजार आँखा हेर्ने मेरी मायालुलाई’ गाएर सुनाए ।

कार्यक्रमपश्चात प्रितमसँग फोटो खिच्नेको भीड नै लाग्यो । प्रितम नेपालकै गहना भएकाले झापा बोलाएर सम्मान गरिएको सरगम संगीतालयका प्रवन्धक दीपक रायामाझीले बताए । सारेगमप लिटिल च्याम्प’मा सेकेन्ड रनर अप हुन सफल प्रितम यतिबेला सम्मान थाप्नमै व्यस्त छन् ।

कार्यक्रमका प्रमुख अतिथि संगीत कलाकर्मी संघका केन्द्रीय अध्यक्ष डीबी गुरुङ, सरगम संगीतालयका प्रवन्धक दीपक रायामाझी, साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठ लगायतले प्रितमलाई सम्मानपत्र प्रदान गरेका थिए ।

भारतबाट फर्किएलगत्तै प्रितमलाई इटहरी उपमहानगरपालिकाले बाल सद्भावना दूत घोषित गर्यो् । गत सोमबार प्रितम पूर्वी नाका काँकडभिट्टा हुँदै स्वेदश फर्किएका थिए । प्रतियोगितामा भाग लिन भारत जानुअघि पनि प्रितमलाई इटहरीका मेयर द्वारिकलाल चौधरीले नेपाली झण्डा प्रदान गर्दै विदाइ गरेका थिए । १० जेठ २०६५ मा जन्मिएका इटहरी उपमहानगरपालिका–५ का प्रितमले ४ वर्षको उमेरदेखि गीत गाउन थालेका हुन् ।

 

 

 

 

Facebook Comments Box