विराटनगर /  प्रदेश १ सरकारका विनाविभागी मन्त्रीहरुले आज जिम्मेवारी पाउने भएका छन् । सत्तारुढ दलहरुबीच भावण्डा र मन्त्रालयको संख्या तथा नामबारे सहमति जुटेसँगै मन्त्रीहरुले जिम्मेवारी पाउने भएका हुन् ।

अहिले केहिबेरमा बस्ने मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गरेपछि मन्त्रीहरुको जिम्मेवारी तोकिने मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । मन्त्रालय बाँडफाँटको विषयमा सैद्धान्तिक सहमति भएको नेताहरुले बताएका छन् ।

अहिले मुख्यमन्त्री कार्यालयसहित १३ वटा मन्त्रालय रहेकोमा ९ वटा बनाउने मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले गरेको थियो । त्यसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ९ कि त्यसबाहेक ९ भन्नेबारे पनि दलहरुबीच छलफल भएको बुझिएको छ । त्यसलाई आवश्यकताका आधारमा टुंगो लगाउने सहमति दलहरुले गरेको स्रोतले जनाएको छन् ।

प्रदेश सरकार बन्दा सुरुमा कायम रहेका ७ वटा मन्त्रालयमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालले विभाजन गरि बाँकी पुरानै मन्त्रालय कायम राखिने भएको छ । भौतिक पूर्वाधारबाट अलग भएको खानेपानी, उर्जा तथा सिचार्इं मन्त्रालय कायमै हुनेछ भने सामाजिक विकास मन्त्रालयबाट अलग भएको स्वास्थ्य मन्त्रालय पनि कायमै हुनेछ । यसबाट यातायात व्यवस्था तथा सञ्चार, उद्योग श्रम तथा रोजगार, पर्यटन तथा संस्कृति, भूमि व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्रालयको अस्थित्व नरहने स्रोतले जनाएको छ । मन्त्रालयको संख्या १० बनाउने निर्णय हुँदा भने एउटा मन्त्रालय कायम हुनेछ ।

प्रदेश सरकारमा एमालेले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाहेक आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानून र खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय र सामाजिक विकास मन्त्रालय आफैंसँग राख्ने तयारी गरेको छ । माओवादीको भागमा सडक पूर्वाधार तथा शहरी विकास र उद्योग पर्यटन वन तथा वातावारण मन्त्रालय पर्ने संभावना छ । १० वटा मन्त्रालय कायम भएमा माओवादीले थप एक मन्त्रालय पाउने स्रोतले जनाएको छ ।

राप्रपाले कृषि वा सामाजिक विकासमध्ये एउटा पाउनेछ । त्यस्तै स्वास्थ्य मन्त्रालय जसपाले पाउने संभावना रहेको छ । मुख्यमन्त्रीले पुस २५ गते तीनजना मन्त्री नियुक्त गरेका थिए । एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई पहिलो चरणमा मन्त्री बनाएका मुख्यमन्त्रीले दोस्रो चरणमा माओवादीका दुर्गाप्रसाद चापागाईं र जीवन आचार्य तथा एमालेका बुद्धिकुमार राजभण्डारीलाई मन्त्री बनाए । यी सबै मन्त्रीहरु अहिलेसम्म बिनाविभागीय हैसियतमा छन् ।

Facebook Comments Box