नेट हाउसभित्र फर्कदै भेँडे खुर्सानी र टमाटर

दाङ, ८ फागुन / दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ७ मा रहेको राप्ती वहुउद्देश्यि कृषि फार्ममा भेडे खुर्सानी र टमाटर पनि संगै उत्पादन गरेर आम्दानीमा थप टेवा पुर्याउन थालेका छन् । गत वर्ष एशियाली विकास बैंकको २५ लाख रुपैयाँ र फार्मका १२ जना सदस्यहरुको ५९ लाख रुपैयाँमा नेट हाउस निर्माण गरेर यस्तो व्यवसाय सुरु गरेका हुन । हाईटेक प्रविधिद्धारा निर्माण गरिएको घर १ विगहा क्षेत्रफलमा यस्तो खेती गर्दै आईरहेका हुन । जसमा १० प्रतिशतमा टमाटर तथा ९० प्रतिशत क्षेत्रफलमा भेडेखुर्सानीको खेती गरेर आम्दानी बढाउने उपाय गरेका हुन ।
गत वर्षको ६ महिनाको सिजनमा बजार मूल्य राम्रो पाएकाले ५ लाख वरावरको कमाई भएको फार्मका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेको भनाई छ ।


गत वर्ष ७० देखी ९० रुपैयाँमा प्रतिकेजी भेडेखुर्सानी बिक्री भएको भएपनि यो वर्ष भने ४५ रुपैयाँमा मात्र बिक्री भइरहेको बताए । भारतीय विचौलियाका कारणले बजार मूल्य नपाएको भन्दै यो वर्ष सोचेजती फाईदा नहुने भएपनि कृषिकर्म गर्न भने नछाडेको उनीहरु बताउछन् । व्यापारीहरुका अनुसार ४५ रुपैयाँ भन्दा सस्तो त भारतबाट आउने बताउछन् । फार्म संचालकहरुका अनुसार व्यापारीले ४५ रुपैयाँ भन्दा बढी भाउँ दिन मान्दैनन् । वाध्यताले उनीहरुले मागे कै भाउँमा दिनुपर्ने किसानको वाध्यता भएको उनीहरु वताउँछन् । १२ जनाको समूहले मिलेर संचालनमा ल्याएको यस फार्मबाट पाँच वर्षमा मनग्य आम्दानी गर्ने उद्देश्य वोकेको छ । तर, यस्तै अवस्थाले त लगानी उठाउन समेत धाउधाउ हुने उनीहरुको अनुभव छ ।
नेपालको सन्दर्भमा किसानले उत्पादन गरेको कृषि उपजको सरकारले बजार व्यवस्थापनमा ग्यारेन्टी लिए मात्र असल कृषि अध्यास हुने उनीहरुको वुझाई छ । होइन, भने विचौलियाहरुले बजारमा कब्जा जमाएर मनोपोली गर्ने गरेकोमा उनीहरु दुःखी छन् । अध्यक्ष न्यौपानले भने, ‘उत्पादित लागत बढी छ, बजार मूल्य न्युन् छ । यस्तो अवस्थामा कसरी उत्पादन गर्ने ?’ बाहिरी खुल्ला ठाउँमा उत्पादन गर्नु र नेट हाउँस भित्र उत्पादन गर्नुमा तुलनात्मक रुपले वृद्धि भएको उनको भनाई छ ।
समय समयमा प्राविधिक सिप सिक्दै आएकाले प्रविधिमा कुनै समस्या छैन्, तर नेट हाउँस भित्र ज्यालामा काम गर्ने कृषक नपाएको भन्दै समितिका सदस्यहरुले काम गरिरहेको बताए ।
बाहिरी खुल्ला ठाउँमा खेती गर्दा रोग किराहरुको डरहुने भन्दै नेट हाउँसमा कुनै किसिमको डर नभएको उनको भनाई छ । भेडेखुर्सानी रोपेको २÷३ महिनामानै उत्पादन दिन्छ । फार्ममा उत्पादन भएको भेडेखुर्सानी घोराही, प्युठान, रोल्पा र लमही लगायतका मुख्य मुख्य सहरहरुमा जाने गर्दछ ।