साबिक राजपा ब्युताउने तयारीमा महन्थ ठाकुर

बैकल्पिक खवर

काठमाडौं / एकता भएको बर्षदिन नपुग्दै जसपा भित्र साबिकको राजपा ( राष्ट्रिय जनता पार्टी )ले आफ्नै पुरानो पार्टी ब्युताउने तयारी गरेको छ ।

राजपाका नेता कार्यकताहरु दिनहुुँ जसो राजपाको कार्यलयमा बसेर ओलि सङ सत्ता सहकार्य गर्ने गरि साबिककै राजपा लाई निरन्तरता दिने गरि छलफल भैरहेको श्रोतले बतायो । सोही योजना अनुसार आजभोलि महन्थ ठाकुर , राजेन्द्र महतो लगायतका नेताहरु जसपाको केन्द्रिय कार्यलय बालकुमारी जान छडेका छन । श्रोतका अनुसार महन्त ठाकुर सभामुख , राजेन्द्र महतो परराष्ट्र मन्त्री , लक्ष्मण लाल कर्ण गृहमन्त्री सहित ८ मन्त्रालय र महन्थ ठाकुर निकट सुरेन्द्र झा, केशब झा लगायत लाई महत्त्वपूर्ण नियुक्ति दिने गरि प्रधानमन्त्री केपि ओलिसंग आन्तरिक सहमती भएको छ ।

सर्वोच्च अदालतले फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदरको फैसला गरेपछि तत्कालिन दुई ठूला पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएका छन् ।यी दुई ठूला पार्टी ब्युँतिएपश्चात् देशको राजनीतिक अवस्था सत्ता गठबन्धनमा आएर अड्किएको छ । देशका चार ठूला पार्टी नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनलाई लिएर पटक–पटक भेटवार्ता र छलफल गरेका छन् ।

नयाँ सत्ता गठबन्धनलाई लिएर चार ठूला राजनीतिक पार्टीबीच खिचातानी सुरु भएको महिनौ बितेको छ । तथापि महिनौ बिताएको खिचातानीले आजसम्म पनि मूर्तरूप पाउन सकेको छैन ।

जसको फलस्वरूप गत चैत २७ गते तीन दल काँग्रेस, माओवादी केन्द्र र जसपाबीच नयाँ सत्ता गठनसम्बन्धी छलफल भएको थियो । तथापि उनीहरूको छलफलले मूर्तरूप भने लिन सकेन । जसपाले सत्ता गठनका बारेमा पार्टीमा छलफल गर्ने र निष्कर्षमा पुग्ने बताएपछि बैठक टुङ्गिएको छ ।

सत्ता गठबन्धनका लागि जसपा अहिले निर्णायक छ । यो पार्टीले एमाले वा माओवादी केन्द्र जुन पार्टीलाई साथ दिन्छ । उहीँ पार्टीसँगै मिलेर सत्ताको बागडोर सम्हाल्ने छ । यद्यपि अहिलेसम्म सत्ता गठबन्धन वा साझेदारीका लागि काँग्रेस र जसपाले कुनै पार्टीलाई साथ दिएको छैन ।
तर, जसपा भने सत्ता गठबन्धनका लागि भनेर प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्म ओलीसँग पटक–पटक छलफलमा सरिक हुँदै आएको छ ।

पछिल्लो विकसित घटनाक्रमलाई हेर्द, जसपाका केही नेता एमाले र केही काँग्रेस र माओवादी केन्द्रसँग भेटवार्ताको क्रममा रहेको बुझिएको छ । केही दिनअघि जसपा अध्यक्ष महन्थ ठाकुर र उनीनिकट केही शीर्षस्थ नेता एमालेसँग सत्ता गठबन्धनका लागि छलफल गरेका थिए ।

पूर्वप्रधानमन्त्री एवम् पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई माओवादी केन्द्रसँग निरन्तर छलफलमा रहेको बुझिएको छ ।

जसपा भित्रको राजनीतिक घटनाक्रमलाई नियाल्दा, नेता भट्टराई र अध्यक्ष ठाकुरबीच मतभेद देखिन्छ । भट्टराई काँग्रेस र माओवादी केन्द्रसँग सत्ता गठबन्धनका लागि छलफलमा रहेको स्रोत बताउँछ भने ठाकुरले एमालेसँग भेटवार्ता गरिसकेका छन् ।

पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष ठाकुरबीच सत्ता गठबन्धनका लागि संवाद र छलफल भए पनि कुरा मिल्न सकेको छैन । उनीहरूबीच कुरा नमिलेपछि एमाले र माओवादी केन्द्रसँग सत्ता गठबन्धनका लागि साठगाँठ गर्न थालेको भन्दै पार्टीका अन्य शीर्ष नेताहरूले रडाको मच्चाएको जसपाका एक नेताले बताए ।

ती नेताले भने –‘सुरुदेखि नै भट्टराई र ठाकुर प्रधानमन्त्री बन्ने दाउका कारण पार्टी भित्रको विवाद उत्कर्षमा पुग्न थालेको छ । यसले पार्टीलाई कुनै राम्रो छाप पार्दैन । यसका लागि उहाँहरू दुवै जनाले प्रत्यक्ष भेटघाट र छलफलका माध्यमबाट पार्टीभित्र बल्झिएको विवाद समाधान गर्न सक्नुपर्छ र त्यहीँ अनुसारको वातारण तय गर्न सक्नुपर्छ ।

अन्यथा पार्टी दुर्घटनामा पर्ने सम्भावनाको नजिक पुगेको देखिन्छ । प्रधानमन्त्री पदको लोलुपतामा लाग्नुभन्दा पनि उहाँहरूले पार्टीलाई कसरी हुन्छ, दुर्घटना हुनबाट रोक्नुपर्छ ।

भट्टराई र ठाकुर प्रधानमन्त्रीको दाउमा लाग्नुको कारण काँग्रेस, एमाले र माओवादी केन्द्र एक्लैले नयाँ सरकार गठन गर्ने सक्ने अवस्था छैन । यसका लागि जसपाले यी पार्टीमध्ये एक पार्टीलाई समर्थन गरेमा सत्ता गठबन्धन हुने पक्का छ । तर, प्रधानमन्त्री ओलीले सत्ता टिकाउनका लागि जसपासँग साझेदारी नगरी ओलीको सत्ता टिक्नेवाला छैन ।

उनलाई सत्ता टिकाउन वा प्रधानमन्त्री पदमा रहिरहन जसपाको साथ चाहिन्छ । तथापि माओवादी केन्द्र प्रधानमन्त्री ओलीलाई कुनै हालतमा पनि हटाउन चहान्छ । त्यसका लागि उसले पनि जसपाको साथ खोजिरहेको छ । तर, जसपाभित्र अहिलेसम्म एमाले वा माओवादी केन्द्र कसलाई साथ दिने भन्ने निष्कर्षमा पुगेको छैन ।

तर, अध्यक्ष ठाकुर भने ओलीसँगै सत्ता साझेदारी गर्ने मनसायमा देखिन्छन् । उनले केहीँ दिन अगाडि ओलीसँग सत्ता गठनबन्धनकै लागि भनेर भेटवार्ताँसमेत गरेका थिए । भेटवार्ताका क्रममा ठाकुरले निलम्बित सांसद रेशम चौधरीको रिहा, मधेस आन्दोलनका मुद्दा फिर्ताँ र संविधान संशोधन गर्नुपर्ने लगायतका माग राखेका थिए ।

ठाकुरको मागप्रति प्रधानमन्त्री ओली सकारात्मक भएको भन्दै ठाकुरनिकट केही नेताले ओलीसँगै सत्ता साझेदार गर्नुपर्ने अडान राखेका थिए । तर, पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष ठाकुरबीच यस बारेमा कुरा मिल्न सकिरहेको छैन ।

यी दुई नेताबीच सत्ता साझेदारीका लागि मत नमिल्दा पार्टी फुटको सँघारमा उभिएको छ । यो देखेपछि भारतले चलाखी पनि नगरेको होइन । उसले जसपालाई सकेसम्म फुटबाट जोगाउन सक्ने सम्भावना देखिन्छ । किनकि जसपा नफुटेमा भारतले जसपाको माध्यमबाट नेपालमा थप राजनीतिक एवम् रणनीतिक चलखेल गर्नसक्ने विज्ञको आकलन छ ।

पार्र्टी फुटको डिलमा पुगेपछि जसपाका शीर्षस्थ तहका केही नेताहरूको भारत दौडाहा नभएको पनि होइन । यसभन्दा अगाडि उनीहरू बेला—बेला भारत पुग्ने गरे पनि यसपटक भने नेताहरू समयक्रम मिलाएर पटक—पटक भेट्न पुगेको स्रोतको दाबी छ ।

यस विषयलाई लिएर भारत पनि गम्भीर भएको ती नेता बताउँछन् । जसपा नफुटोस् भन्ने सोचेरै भारत निरन्तर सम्पर्कमा रहेको स्रोत बताउँछ भने जसपाका शीर्षस्थ नेताहरू पनि भारतसँग भेटवार्ता र छलफलकै क्रममा छन् । उसको चाहाना सकभर जसपालाई फुटबाट बचाउनु नै हो ।

जसपा भित्रका नेताहरूको मत नमिल्दा दिनानुदिन विवाद उत्कर्षमा पुग्दै गएको छ । अध्यक्ष ठाकुर र उनीनिकट नेताहरू ओलीसँगै सत्ता गठबन्धन गर्न भेटवार्ता र छलफलको प्रक्रियामा छन् भने भट्टराई र उनीनिकट नेताहरू ओलीसँग गठबन्धन नगर्ने पक्षमा छन् ।

भट्टराईले सामाजिक सञ्जालमार्फत ओलीको निकै चर्को आलोचना गर्दै आएका छन् । उनी सामाजिक सञ्जाल ट्वीटर, फेसबुकमार्फत बारम्बार ओलीको सत्ता वहिर्गमनको माग राख्दै आएका हुन् । त्यतिमात्रै होइन, उनले प्रधानमन्त्री ओलीलाई भस्मासुरको उपमासमेत दिएका छन् ।

उनले ओलीमाथि यसरी आलोचना गर्दैगर्दा अध्यक्ष ठाकुर भने सत्ता गठबन्धनका लागि बालुवाटारमै पुग्ने गरेका छन् । यस विषयलाई लिएर हामीले नेता उपेन्द्र यादवलाई सोधेका थियौँ, –‘तपाईंको पार्टीका अध्यक्ष ठाकुर र उनीनिकट केही नेताहरू सत्ता गठबन्धनका लागि बालुवाटार धाउने गरेका छन्, खासमा के हो ?’

उनले यस प्रश्नको जवाफ दिँदै भने, –‘उहाँहरूको प्रधानमन्त्रीसँग कुनै व्यक्तिगत भेटघाट हुनसक्छ । तर, सत्ता गठबन्धनकै लागि भनेर बालुवाटार पुग्नु भएको होइन । यदि गठबन्धनकै लागि भएको भए म लगायत भट्टराईसँग पनि छलफल हुन्थ्यो । त्यसो भएको छैन ।’

तर, जसपाभित्र चर्किएको अन्तर कलहका कारण राजपा ब्युँतिनेतिर संकेत छ । जसपा पार्टी एकता भएको बैशाखमा एक वर्ष पूरा भएको छ । बाहिर हेर्दा पार्टी एक देखिए पनि आन्तरिक गतिविधि हेर्दा जसपा एकताअघिका पार्टी नै देखिन्छन् ।

पछिल्लो समय नयाँ सत्ता गठबन्धनलाई लिएर भएको विवादपछि स्पष्ट दुई धार देखिएको छ । एकता अघिका राष्ट्रिय जनता पार्टी समूह र समाजवादी पार्टीको समूह बेग्ला–बेग्लै बैठक बस्ने र गोप्य निर्णय गर्ने गर्दै आएका छन् ।

चैत ५ गते जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बस्न सकेन । उक्त बैठकमा विवाद उत्कर्षमा पुग्ने र पार्टी फुट्ने सम्भावना देखिएपछि बैठक स्थगन गरिएको थियो । बैठक स्थगित भए लगत्तै जसपाको एकपक्ष अर्थात् तत्कालीन राजपाका पक्षका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

बैठकले ६ सदस्यीय कार्यदल समेत गठन गर्यो । त्यसमा जसमा राजपापट्टिका नेतालाई मात्रै राखिएका थिए । नवगठित कार्यदलको अध्यक्षमा प्रदेश—२ का भौतिक पूर्वाधार एवं विकास मन्त्री जितेन्द्र सोनल तोकिए । उनको नेतृत्वमा कार्यकारिणी सदस्यहरु मनिष सुमन, केशव झा, सञ्जय यादव, सुनिल रोहित, रमेश यादवलाई कार्यदलमा राखियो ।

दुई पार्टीको एकीकरणलाई व्यवस्थित गर्न पूर्वराजपाले ६ सदस्यीय कार्यदल गठन गरेको जानकारी दिएको छ । यो समितिले पूर्वराजपा नेपालका विभिन्न संगठनलाई व्यवस्थित गर्दै एकीकरणको लागि तयार गर्ने बताइएको छ । बाहिरी रुपमा यो भनिए यसको भित्री उद्देश्य भने फरक रहेको स्रोतको भनाइ छ ।

बाहिर पार्टी एकीकरणको विषयलाई लिएर छलफल भएको भनिए पनि भित्र भने ठाकुरनिकट पक्ष पूर्वराजपा ब्युँताउने कोसिस भैरहेको बुझिएको छ । पूर्वराजपा पक्षले एमालेसँग सत्ता गठबन्धन गरेरै भए पनि पार्टी ब्युँताउने प्रयत्न गरेको स्रोत बताउँछ ।

गत शनिबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले सवर्वदलिय बैठक बसालेका थिए । उक्त बैठकमा कोरोना संक्रमण तथा नियन्त्रण, विभिन्न अध्यादेश, संघ, प्रदेश र स्थानीय तहमा रिक्त रहेको जनप्रतिनिधिको पदपूर्ती र एमसीसी संसदमा टेबल गर्ने विषयमा छलफल भएको थियो ।

बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसलगायत अन्य साना केही दलका प्रतिनिधिहरूको पनि उपस्थिति थियो । तर, नेकपा (माओवादी केन्द्र), एमाले वरिष्ठ नेता माधवकुरमार नेपाल—झलनाथ खनाल (नेपाल—खनाल)पक्ष, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको भने उपस्थिति थिएन ।

यसरी हेर्दा पनि जसपाको आन्तरिक विवाद उत्कर्षमै छ भन्ने बुझिन्छ । तर, अध्यक्ष ठाकुर पार्टीको निर्णयबिना नै ओलीसँग सत्ता गठबन्धन गर्न खोज्नु, बालुवाटार पुगेर सत्ताका लागि बार्गेनिङ गर्नु, पार्टी कार्यालयमा जानै नमान्नु, राजपाको पुरानै कार्यालयमा पुग्नु आदि कारणले पनि ठाकुरपक्ष पूर्वराजपा ब्युँताउने पक्षमा उभिएको देख्न सकिन्छ ।

मङ्गलबार, ०७ बैशाख, २०७८, दिउँसोको ०३:५८ बजे

सम्बन्धित खवर