आयुर्वेदिक औषधिको बारेमा जनतामा विश्वास जगाउन टोलटोलमा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । गण्डकी प्रदेशमा पाइने जडीबुटी जनतालाई चिनाउनुपर्ने र त्यसको सङ्कलन, प्रशोधन तथा बिक्रीवितरणका माध्यमबाट प्रदेश र देशलाई नै समृद्ध बनाउनुपर्ने खाँचो औँल्याइएको छ ।

नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घको कास्की शाखाको प्रथम साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आयुर्वेद ठीक हो भन्ने कुरा हरेक नागरिकको दिमागमा प्रवेश गराउनका लागि अभियान सञ्चालन गरेर भए पनि प्रचारप्रसारमा जोड दिनुपर्ने बताए । सरकारको तर्फबाट पनि आयुर्वेद औषधि प्रचार तथा उपभोगमा जनचेतनाका लागि आगामी वर्ष बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाउँदै उनले भने, “जङ्गलमा भएको जडीबुटी जनतालाई चिनाउनु आवश्यक छ । नपढेको मान्छेलाई सबै झारपात हो, ज्ञान भएको मान्छेलाई जडीबुटी हो, तपाईले जानेका कुरा जनतालाई चिनाउनु आवश्यक छ ।”

सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामचन्द्र बुढाथोकीले देशमा रहेको जडीबुटी प्रशोधन गरेर निर्यात गर्न सकेको खण्डमा व्यापारघाटा न्यूनीकरण भएर समृद्धि हासिल गर्न मद्दत पुग्ने बताए । गण्डकी आयुर्वेद अस्पताल पोखराका प्रमुख डा ओम कोलोनीले नेपालमा वर्षेनी रु एक अर्ब ५० करोड हाराहारीमा मात्र आयुर्वेदिक औषधि उत्पादन हुने गरेको र वार्षिक रु सात अर्बको औषधि भारतलगायतका देशबाट आयात हुने जानकारी दिँदै नेपालमा उत्पादन हुने कच्चा पदार्थको प्रशोधन गरेर यहीँ उत्पादन गर्ने हो भने यहीँको उत्पादनले माग धान्ने बताए ।

पोखराको तेर्सापट्टीमा साईंला वैद्यबाट विसं १९८० को दशकबाट शुरु भएको आयुर्वेदिक औषधि पसलमा हाल रु २५ करोडभन्दा बढीको लगानी रहेको र १०० पसल सञ्चालनमा रहेको सङ्घले जनाएको छ । रासस

Facebook Comments Box