धरानमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा ८ जना घाइते

विराटनगर / सोमबार साँझ धरानमा खाना पकाउने ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको सुनसरी प्रहरी प्रमुख प्रभु ढकालले जानकारी दिएका छन्।


‘अहिले धेरैले विष्फोट भनिरहनु भएको छ तर विष्फोट भएको होइन, ग्यास लिक भएर आगलागी भएको हो’, एसपी ढकालले भने ‘आगोले जलेर स्थानीयबासी घाइते हुनुभएको हो।’ उनका अनुसार धरान १७ को आदर्श चोकस्थित स्थानीय सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्यास लिक भएपछि उनीहरुले ग्यास डिलरका मान्छे बोलाएका थिए। उनीहरु आएर हेर्दै गर्दा एक्कासी आगो उठेको थियो।
कोसी ग्यासको सिलिन्डर लिक भएको थियो। त्यसक्रममा घाइते हुनेहरूमा घरधनी २७ वर्षीया सबिता राई, कोठा भाडामा बस्ने ४२ वर्षीया अञ्जना राई, ६५ वर्षीया रामकुमारी राई, ८ वर्षीय साङ्केन राई, १० वर्षीय सुमिहाङ राई, कोसी ग्यासका प्राविधिक धरान ११ बस्ने १९ वर्षीय अनीश कार्की र सिराहा बन्दीपुर बस्ने १८ वर्षीय वासुदेव खड्का घाइते भएका छन्। उनीहरुमध्ये ६५ वर्षीया वृद्दा रामकुमारी सबैभन्दा गम्भीर रहेको प्रहरी भनाइ छ। उनीहरु सबैको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।